धरानः सुनसरीबाट कटुवा पेस्तोलसहित एकजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ जट्वारा टोल बस्ने २५ वर्षीय सजाद अन्सारी रहेका छन् । सोही स्थानका २३ वर्षीय सारिक जटबीच एकआपसमा विवाद हुँदा अन्सारीले सारिकलाई कटुवा पेस्तोल देखाएको भन्ने खबर प्रहरी चौकी घुस्कीहाट पुगेको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको जनाएका छन् । अन्सारीलाई पक्राउ गर्न प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको टोली परिचालन भएको थियो । उनलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको र कटुवा पेस्तोलसमेत बरामद भएाके खतिवडाले बताए ।
पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ । उनले पेस्तोल कहाँबाट ल्याएका हुन् र २ जनाबीचको विवाद के थियो भन्ने बारेमा खुल्न बाँकी छ ।
यस्तै, धरान उपमहानगरपालिका वडा नं.१३ निशाने डाँडास्थित कोशी लोकमार्गमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानबाट खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको ना. ७ ख २८१ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रक भित्र २२ वटा पलाष्टिकको पोकामा प्याक गरेको अवस्थामा ७८३ केजी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
ट्रक र ट्रक चालक जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं.१ बस्ने ३१ वर्षीय मनोज परियार र सहचालक जिल्ला धनकुटा धनकुटा नगरपालिका वडा नं. ६ बस्ने वर्ष १८ को आकाश राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।