Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सम्पन्न प्रदेशस्तरीय एसईई आइडल: गायन, नृत्य र वक्तृत्वकला प्रतियोगितामा ३० जना प्रतिभावान विद्यार्थी छनौट, फाइनल असार ६ गते

हाम्रो कोशी आवाज
बैशाख ३० २०८२, मंगलबार
धरानमा सम्पन्न प्रदेशस्तरीय एसईई आइडल: गायन, नृत्य र वक्तृत्वकला प्रतियोगितामा ३० जना प्रतिभावान विद्यार्थी छनौट, फाइनल असार ६ गते

धरानः धरानमा सम्पन्न एसईई आइडल सिजन ५ का लागि प्रतिभावान ३० जना विद्यार्थीहरु छनौटमा परेका छन् ।
‘शिक्षाका लागि संगीत’ नाराका साथ कोशी प्रदेशस्तरीय कार्यक्रममा गायन (सिङगीङ), नृत्य (डान्सिङ) र वक्तृत्वकला (स्पीच अर्थात् बोल्नेकला) गरी तीन विधामा विद्यार्थीको प्रतिभा खोजिएको थियो । तीन विधामा ३० जना विद्यार्थी छनौट भएका हुन् ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसईई आइडल सिजन ५ ‘सिङगीङ, डान्सिङ र वक्तृत्वकला’ को लागि सेमीफाइनलबाट विभिन्न जिल्लाका प्रतिभावान विद्यार्थी छनौट भएका हुन् ।
सेमीफाइनलमा १५० जना एसईई दिएका छात्रछात्राले तीनवटै विधाका प्रतियोगितामा भाग लिएको र ३० जना प्रतिभावान विद्यार्थी छनौटमा परेको आयोजक संस्था अर्थात् फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष एवम् प्रतियोगिताको परिकल्पनाकार डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
आगामी असार ६ गते फाइनल राउण्ड आयोजना हुने आयोजकले जनाएको छ । फाइनलमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । ‘अहिलेसम्म कलाकारहरुको टुंगो लागिसकेको छैन तर पनि शुरुवात चरणदेखि नै राष्ट्रिय कलाकारहरुको निर्णायकमा कार्यक्रम हुने गरेको छ’, इभेन्ट म्यानेजर रामबहादुर लिम्बूले भने ।
कार्यक्रमको निर्णायकहरुमा गायनतर्फ गायिका प्राश्ना शाक्य, विनायक राई र नृत्यतर्फ राष्ट्रिय कोरियोग्राफर प्रितम सम्वाहाम्फे, नृत्यङ्गना रेश्मा राई रहेका थिए । यस्तै, वक्तृत्वकलातर्फ डा. सुभाष न्यौपाने र प्राध्यापक विद्या झा रहेका थिए ।
प्रतियोगिताअन्तर्गत नृत्य र गायनतर्फका बिजेताले नगद ५० हजारसहित कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको छ भने वक्तृत्वकलातर्फको बिजेताले नगद ६० हजार र कक्षा–११ र १२ निःशुल्क प्लस टु पढ्ने अवसर, निःशुल्क मुस्ताङ भ्रमणको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै, फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गरिएको अध्यक्ष तथा परिकल्पनाकार तुम्बापो बताउँछन् ।

प्रकाशित मिति: बैशाख ३० २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend