धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा यसपटक पनि सर्वोत्कृष्ट, ऐतिहासिक र दुर्लभ नतिजा ल्याएको छ ।
गत वर्षझै यसपटक पनि विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीले जीपीए ४.० प्राप्त गर्न सफल भएको संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले जानकारी दिए । विद्यार्थी रूपराज बरालले जिपिए ४ प्राप्त गर्न सफल भएको उनले जानकारी दिए ।
इतिहासमै पहिलोपल्ट अघिल्लो वर्ष परीक्षमा सहभागी छात्रा गृष्मा लुइँटेलले ४ जीपीए ल्याउँदै दुर्लभ नतिजा प्राप्त गर्न सफल भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
१३१ जना परीक्षार्थी सामेल भएको विद्यालयबाट ३.६१ नय ४.०० जीपीए (ए प्लस) सहित ९९ जना, ३.२१ तय ३.६ जीपीए (ए) सहित २८ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ३ जना विद्यार्थी उत्तीर्ण भएको प्रिन्सिपल श्रेष्ठले जानकारी दिए ।
यसअघिका वर्षहरूमा पनि विष्णुले एसईईमा सुखद् नतिजा हासिल गर्दै शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको थियो । यस वर्षको नतिजा भने इतिहासमै दोस्रोपल्ट अहिलेसम्मकै उत्कृष्ट हो । ‘हामीले यसपटक दुईजनासम्मले ४ जीपीए नतिजाको अपेक्षा गरेका थियौं तर एकजनाले उत्कृष्ट नतिजा ल्याए, त्यसैमा खुशी छौं । यसवर्ष ९९ जना ए प्लस सहितको नतिजामा ल्याउन सफल हुनु पनि गर्वको कुरा हो । हामीले सोचेभन्दा पनि राम्रो नतिजा आएको हामीले महसुस गरेका छौं ।’ संस्थापक अध्यक्ष कटवाल भन्छन् ।
२०५९ सालदेखि एसएलसी हुँदै एसईईसम्म आइपुग्दा दोस्रोपटक यस्तो दुर्लभ नतिजा आएको उनले जानकारी दिए । ‘एसएलसी हुँदै एसईईमा विद्यार्थी सहभागी भएको यो २२ औं ब्याच हो’, उनले भने, ‘यतिका वर्षसम्म पनि हाम्रो नतिजा उत्कृष्ट नै हो तर पनि यो इतिहासमै सर्वोत्कृष्ट नतिजाका रुपमा लिएका छौं ।’ उनले दक्ष शिक्षक–शिक्षिकाको समर्पण, परिश्रमी विद्यार्थी र अभिभावकको सहयोगले सर्वोत्कृष्ट नतिजा निकाल्न सम्भव भएको समेत बताए ।
विष्णु छुट्टै पहिचान बनाउँदै अघि बढेको स्कुल हो । ‘गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै २०४६ सालमा स्थापना भएर अघि बढेको यो स्कुलमा वि.सं. २०५६ सालदेखि निम्न माध्यमिक तह, २०५९ सालदेखि माध्यमिक र २०६५ सालदेखि उच्च माध्यमिक तहसम्मको पढाइ सञ्चालन भइरहेको छ । धरानमा नाम चलेको र देशभरीका स्कुलमध्ये टप २० सम्ममा पर्न सफल विष्णुले यसअघि पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावक, विद्यार्थीको मन जित्दै आएको छ । २०६५ सालमा प्लस टुको अध्ययन–अध्यापन थालिएको विष्णुमा ९५ प्रतिशतभन्दा कम नतिजा छैन ।