Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसईईमा ४ जीपीए ल्याउने मिसु प्रधानले धरानको युएन कलेज रोजिन्

हाम्रो कोशी आवाज
असार १६ २०८२, सोमबार
एसईईमा ४ जीपीए ल्याउने मिसु प्रधानले धरानको युएन कलेज रोजिन्

धरानः सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा ल्याएकी हुन् ।
यसैबीच मिहिनेती, प्रतिभावान (नृत्य, वक्तृत्वकलगायतका विधामा खप्पिस) उनले प्लस टु अध्ययनका लागि धरान–१६ स्थित युएन, नवोदय कलेज रोजेकी छिन् । सोमबार एक कार्यक्रमका बीच कलेजले उनलाई स्वागत गरेको छ । ‘४ जीपीए ल्याएको थाहा पाएपछि धेरै कलेजहरुले मलाई छात्रवृत्तिका लागि अफर गरे तर मैले धरानको युएन, नवोदय कलेजबारे बुझिसकेपछि यहाँ पढ्ने निधो गरें ।’ उनले भनिन् ।
उनका अनुसार आफूले यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम बनेको र त्यतिबेला कलेजले छात्रवृत्ति दिने घोषणा गरेको थियो । काठमाडौंको काठमाडौं मोडल कलेज र धरानको युएन, नवोदय कलेजले पूर्ण छात्रवृत्तिको घोषणा गरेकोले सोही घोषणाअनुसार पनि आफूले यही कलेज पढ्ने निधो गरेको पनि उनले जानकारी दिए । युएन, नवोदय कलेजले उत्कृष्ट नतिजा (धरान प्रथमदेखि प्रदेश टप, नेपाल सेकेण्ड टपसम्म) ल्याइसकेको जानकारी पहिल्यै आफूले पाएको बताउँदै उनले भनिन्, ‘सो कारण पनि मेरो रोजाइमा यो कलेज परयो ।’
विद्यालयका प्रिन्सिपल थानेश्वर ढकालका अनुसार मिसु प्रधान अनुशासित, परिश्रमी र बहुप्रतिभाशाली विद्यार्थी हु्न् । उनका अनुसार मिसुले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेकी छिन् । मिसले यसअघि फक्तालुङ मिडिया प्रालिद्वारा आयोजित प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम बन्दै ६० हजार रुपैयाँ हात पारेकी थिइन् भने प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएकी थिइन् । क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोका अनुसार कलेजले उनलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको छ । उनले एसईईमा ए प्लस, ए ल्याउने विद्यार्थीलाई पनि निःशुल्क पढाइने बताए ।

प्रकाशित मिति: असार १६ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend