धरानः धरान–१६ नौलो वस्तीमा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र भोलि शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । ‘खासमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेका छन्’, उनले भने, ‘पक्राउ परेकाको बारेमा थप बुझ्ने काम भइरहेकोले भोलि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने तयारी गरेका छौं ।’
स्रोतका अनुसार पक्राउ पर्नेमा धरान–१७ निवासी खगेन्द्र राई रहेका छन् । यसअघि धरानस्थित बाल सञ्जालले घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको माग गर्दै इलाका प्रशासन कार्यालय धरानमार्फत् गृहमन्त्रालयमा ध्यानाकर्षणपत्र पठाएको थियो ।
केहीदिनअघि पीडित बालिका र आमा आफै इलाका प्रहरीमा पुगेर जाहेरी दिएका थिए । गत वैशाख १७ गते धरान–१६ स्थित बहुभाषिक पाठशालाको ग्याविन जाली लगाउने क्रममा ती व्यक्तिले स्थानीय १३ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । घटना झन्डै दुई महिनापछि सार्वजनिक भएको थियो ।
यसैबीच यस हाम्रो कोशी आवाज डटकमका सम्पादक शेखरनाथ जोगीविरुद्ध बाल सञ्जालले घटनासँग सम्बन्धित भिडियो सार्वजनिक नगरेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीलाई दबावपूर्ण एक निवेदन समेत दिएका थिए । बाल सन्जालका रोजन शंकर, शिवप्रसाद घिमिरे र सागर तामाङलगायतको एक समूहले पत्रकार महासंघ सुनसरी सदस्य रोहित राईलाई निवेदन दिएका थिए ।
यसप्रति हाम्रो कोशी आवाजको ध्यानाकर्षण भएको छ । ‘पीडितले जसरी पनि न्याय पाउनुपर्छ तर जसरी पनि सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्नैपर्छ भन्ने दबाव सिर्जना गर्नु न्यायोचित होइन, समाजमा बदनाम गर्ने हिसाबले गरिएको यस्तो प्रचारलाई पित पत्रकारिता भनिन्छ । समाचारमा तथ्य र सत्य कुरा नआइकन अपुष्ट भिडियो वा समाचार प्रकाशन, प्रशारण गर्न मिल्दैन ।’ सम्पादक जोगीले भने ।
‘बाल सञ्जालले कुनै पनि भिडियो सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भेटिएन भनेको समेत पाइयो, कति दुःख लागेर आयो’, सम्पादक जोगीले भने, ‘कसैले भनेको र हल्लाका भरमा सामाजिक सञ्जालमा कुनै अपुष्ट भिडियो, समाचार हामीले आफ्नो पत्रकारिताको धर्म र आचारसंहिताको हिसाबले पनि लेख्न पाइँदैन ।’ सञ्जालले आरोपितलाई भगाउन सहयोग गरेको र भिडियो डिलिट गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको र कुनैपनि पत्रकारले कसैलाई भगाउन सहयोग नगर्ने पनि सम्पादक जोगीले स्पष्ट पारेका छन् । ‘म पीडितको पक्षमा जहिल्यै छु, पीडितले न्याय पाउनुपर्छ, तथ्य र सत्य समाचारमा अडिग छु ।’ उनले भने ।