धरानः धरान-१९ स्थित किराँतेश्वर माविका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा-१० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा यस वर्ष उत्कृष्ट नतिजा ल्याएका छन् ।
२२ जना विद्यार्थी सामेल भएकोमा १६ जना उत्तीर्ण भएको प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले जानकारी दिए । ‘सामुदायिक विद्यालयबाट हामीले उत्कृष्ट नतिजा ल्याएका छौं, २२ जना विद्यार्थी सामेल भएकोमा १६ जना विद्यार्थी उत्तीर्ण हुनु भनेको चाहिँ प्रतिशतमा लाँदा ७२.७२ हुन आउँछ । १०० मा ७२ माथि आउनुचाहिँ भनेको चाहिँ गर्वका साथ उत्कृष्ट भनेका हौं ।’ उनले भने ।
‘कानुन’ विषय विद्यार्थीको रोजाइ बन्दै
कक्षा-११ मा कानुन र व्यवस्थापन विषयको अध्ययन अध्यापन हुन थालेदेखि कानुन विषयमा बढी विद्यार्थीको आकर्षण देखिएको प्रधानाध्यापक डा. पालुङ्वाले जानकारी दिए । स्थानीय अभिभावक र विद्यार्थीहरुको माग अनुसार ल (कानुन) विषय सञ्चालनमा ल्याएको र अहिले यो विषयमा बढी विद्यार्थीको आकर्षण देखिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कानुन विषय अध्ययन गर्न भोजपुर, खोटाङ, संखुवासभा, धनकुटादेखि पनि विद्यार्थी आए ।
कानुन पढ्न चाहने विद्यार्थीहरु इटहरी, विराटनगर वा काठमाण्डौं पढ्न जानुपर्ने बाध्यता अन्त्य गर्दै धरानमै पहिलोपटक किरातेश्वरमा पढाई शुरु गर्न थालिएको हो । सरकारी विद्यालयमा प्लस टु सम्म निःशुल्क शिक्षा भने तापनि कतिपय विद्यालयले अतिरिक्त क्रियाकलाप भन्दै वार्षिक शुल्क चर्कै लिने गरेको छ । यो विद्यालयमा न्युनतम मासिक शुल्क ८ सय मात्र रहेको छ भने परीक्षाको लागि ढेड सय मात्रै शुल्क लिइनेछ । ‘सबैको हिसाब गर्दा एक वर्षमा १० देखि ११ हजारसम्म हुन आउँछ । यसमा पनि आर्थिक अवस्था कमजोर विद्यार्थीलाई सिफारिसको आधारमा छुट दिन सकिन्छ,’ प्रअ पालुङ्वाले भने ।
‘अहिलेसम्म कानुन पढ्न चाहने विद्यार्थीहरुले डिप्लोमा सकेर मात्र महेन्द्र कलेजमा एलएलवि पढ्न पाउँथे । अब ल पढ्न चाहने विद्यार्थीहरुलाई सजिलो हुन्छ,’ उनले भने, ‘अहिलेको समयमा धेरै व्यक्तिहरुले उपल्लो डिग्री हासिल गरेपनि कानुनको ज्ञान नहुँदा सानो कुरामा पनि दुःख पाउछन् । कानुन पढेर स्वरोजगार बन्न, लेखापढी सेन्टर खेल्न सकिन्छ । थप अध्ययन गरेर अधिवक्ता बन्न या कुनै पनि संघसंस्थाको कानुनी सल्लाहकार बन्न यो विषय उपयोगी हुन्छ ।’






