Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

हाम्रो कोशी आवाज
असार ३१ २०८२, मंगलबार
धरान-चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा

सुनसरी: मदनभण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडक खण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।
यी पुलहरूसँगै सो सडक खण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।
“रेल्वे पुलको काम भने जङ्गल क्षेत्रभित्र पर्न गएका कारण सुरु हुन सकेको छैन । जङ्गल क्लियरेन्सको काम अफिसले गर्ने भएकाले क्लियरेन्स भएपछि तुरुन्तै काम सुरु गरिनेछ”, इन्जिनियर श्रेष्ठले भने ।
कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित रु २१ करोड ७८ लाख ६३ हजार ७५० मा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो ।
तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इन्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रुख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रुख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।
उनले भने, “बर्खामा खोलामा यात्रा गर्न निकै कठिन थियो, कैयौँ मानवीय क्षति भएको थियो । अब पुल बनेपछि सहज यात्रा सम्भव भएको छ ।”
उक्त सडक खण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ । -रासस

प्रकाशित मिति: असार ३१ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend