धरानः प्रहरीले धरानबाट लागूऔषधसहित युवायुवती पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले दिएको जानकारी अनुसार गत असार ३२ गते लागूऔषध बेचबिखान भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा युवायुवती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१० का २४ वर्षीय अंकित राई र धरान–६ का २१ वर्षीय भरत मगर, धरान–१३ का २३ वर्षीय सागर राई, धरान–५ की २१ वर्षीया ज्योति राई, २६ वर्षीया नुमा लिम्बू र धरान– ५ की २३ वर्षीया सुजना राईलाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्कीसहित पक्राउ गरेको जनाइएको छ ।
सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।
यस्तै, प्रहरी टोलीलेबाँसको झ्याङमा लुकाएर राखेको गाँजा बरामद गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नं. ७ क्वाटरडाँडास्थित बाँसको झ्याङमा लागूऔषध गाँजा लुकाइछिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट पञ्चायन र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटेको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
बाँसको झ्याङ भित्र बेवारिसे अवस्थामा कालो प्लाष्टिकले बेरिएको १० पोका लागूऔषध गाँजा ३०० के.जी. फेला पारी कानुन बमोजिम बरामद गरी इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगञ्ज गाउँपालिका–७ स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा बरामद गरेको हो । गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस्तै, प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । मोरङको धनपालथान गाउँपालिका– १ गदिया खोला किनारामा गाँजा लुकाइछिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा वेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।