Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विधिवतरुपमा बोलबम शुरु

हाम्रो कोशी आवाज
साउन १ २०८२, बिहिबार
धरानमा विधिवतरुपमा बोलबम शुरु

धरानः धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा बिहीबारदेखि विधिवत्रुपमा बोलबम शुरु भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पिण्डेश्वर मन्दिरमा जल अभिषेक गर्दै विधिवतरुपमा बोलबम शुरु भएको घोषणा गरेका थिए । पिण्डेश्वर बाबाधाम समितिले आयोजना गरेको सो कार्यक्रम आयोजना गरेको हो ।
साउन महिनाभर शिवालयहरुमा गेरुबस्त्रधारी बोलबम भक्तजनहरुको भीड रहने गर्दछ । विजयपुरस्थित धार्मिक ऐतिहासिक पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि श्रावणको पहिलो हप्ताको सोमबारदेखि नै पहेलो गेरुवस्त्रधारी बोलबम भक्तजनहरुको लर्को लाग्ने गरेको बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले बताए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले पिण्डेश्वर मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने योजना अघि सारिएको बताउँदै भने, ‘अब कोशी प्रदेश सरकारले, नेपाल सरकारले, धरान नगर सरकारले यी क्षेत्रका विकास र विस्तारको लागि योजनाबद्ध विकासको थालनी गर्नुपर्ने भएको छ, यो कुरामा कोशी प्रदेशबीचमा प्रण गर्न चाहान्छ, हामी यो कामलाई निरन्तर अघि बढाएर केही वर्षभित्र अहिलेको भन्दा लाखौं पर्यटक आउन सक्ने धार्मिक साथै सांस्कृतिक केन्द्रका रुपमा विकास गर्छौं ।’
बोलबममा आउने सबै उमेर समूह (बालकदेखि युवा तथा वृद्धवृद्धाहरु) का चतराको कौशिकी नदीबाट जल बोकेर ल्याएर पिण्डेश्वर मन्दिरमा जल चढाउन लामबद्ध हुन्छन् । पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाहरुको उपस्थित हुने गरेको तथा विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित युवतीहरुले राम्रो पति पाऊँ भन्दै शिवलिङगमा जल चढाउने गर्दछन् । कोशी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा रहेको शिवलिङगमा चढाएमा आफ्नो मनोकांक्षा पूरा हुने समेत धार्मिक विश्वास रहेको पिण्डेश्वर मन्दिरका मूल पुजारी गोकुल पोख्रेलले जानकारी दिए । कार्यक्रममा उनले साउन महिनामा आउने भक्तजनको सहजताका लागि मन्दिरमा ढुंगाका टाय, सरसफाइमा ध्यान दिएको बताए ।
कार्यक्रममा आयोजक पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपालीले प्रदेश सरकारले विजयपुर चौकदेखि दन्तकाली हुँदै पिण्डेश्वर मन्दिर आउने बाटो सुधारका लागि डेड करोड रुपैयाँ बजेट दिइएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।
धरानमा बोलबमको इतिहास २०३९ सालबाट शुरु भएको मूल पुजारी बताउँछन् । श्रावण महिनाभर चल्ने सो धार्मिक बोलबम मेलालाई निरन्तरता दिनकै लागि भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर पिण्डेश्वर बाबाधाम समिति गठन गरेर मन्दिरको जीर्ण भौतिक संरचना, मन्दिरसम्म पुग्ने सडक सञ्जाल, शौचालयको व्यवस्थामा समितिले ध्यान पुरयाउँदै आएको छ ।
यो वर्ष ४ देखि ५ लाखसम्म भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने अपेक्षा गरिएको समितिका अध्यक्ष बनेपाली बताउँछन् । मन्दिरमा प्रत्येक वर्षको साउन महिनाको सोमबार सप्तकोशी नदीबाट जल ल्याई खाली खुट्टा भक्तजनले जल चढाउने परम्परा छ । साउनको सोमबारमा मात्रै नभई अब त महिनाभर नै भीड लाग्न थालेको उनको भनाइ छ । पिण्डेश्वर मन्दिरमा दर्शनार्थी बढिरहेकाले यसको व्यवस्थापनमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सहयोग गरे सहज हुने उनी बताउँछन् ।
वजयपुर डाँडा रहेको एक धार्मिक तथा ऐतिहासिक मन्दिर पूर्वकै प्रसिद्ध मन्दिर हो । धरानलाई मन्दिरको पिठ पनि भनिन्छ । पुराणमा उल्लेख भए अनुसार देव र दानवले समुन्द्र मन्थन गरी निकालेको विष र अमृत मध्ये अमृत छानी फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानको रुपमा पिण्डेश्वरलाई लिइन्छ । पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (वर्ष भरिमा) करिब ६ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धापूर्वक भक्तिभावले पूजा आराधना गर्न आउँछन् । जसमध्ये करिब ४ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।
धरानमा बुढासुब्बा मन्दिर, दन्तकाली मन्दिर, पञ्चकन्या मन्दिर यहाँ प्रखुम धार्मिक मन्दिर हुन् ।

प्रकाशित मिति: साउन १ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend