धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । पहिलो सोमबार नै भक्तजनको घुइँचो लागेको र आफू आश्चर्य चकितमा परेको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
पहेंलो बस्त्रधारी भक्तजन पनि यसपटक भेटिएका हुन् । राति १ बजेदेखि नै मन्दिरको ढोका खुलेको र त्यतिबेलैदेखि भक्तजनको भीड लागेको उनी बताउँछन् ।
धरानमा बोलबम भित्रिँदा चहलपहल, व्यापार व्यवसायमा वृद्धि मात्रै हुँदैन थियो धार्मिक पर्यटनमा टेवा पुग्ने गरेको छ । यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान–१४ मा बिहानैदेखि घुइँचो लागेको छ ।
यस वर्ष वर्षा नभएका कारण कतिपले खेतीपाती (धान रोप्नेलगायत) पूरा गर्न नसकेको कारण पनि केही कम भक्तजन आउने आंकलन गरेपनि पहिलो सोमबार नै यतिका भक्तजनको उपस्थिति भएको हो । पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार वनेपालीले साउनभरी करिब ५ लाख भक्तजनले जल चढाउने अनुमान गरिएको बताउँदै भने, ‘तर यसपटक पहिलो सोमबार नै यतिका भीडले भक्तजन आउने अनुमानलाई पूरा गर्छ भन्ने लाग्छ ।’
पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुने गर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।
कोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबाधाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यसअघि खालीखुट्टा हिँडेर कोशीको पानी ल्याउने भक्तजनहरुले केही वर्षअघिदेखि सवारी साधनमा पुगेर जल ल्याउने परम्परा बस्दै गएको प्रोफेसर डा. राजेन्द्र शर्मा बताउँछन् । ‘२०३९ सालदेखि शुरु भएको बोलबममा यसअघि गेरुबस्त्रधारण गर्दै खाली खुट्टा नै कोशी नदीबाट पानी ल्याउँदै आएका हुन् तर केही वर्षयतादेखि सवारी साधनको कारणले यस्तो प्रचलन हराउँदै गएको छ ।’ उनी थप्छन् ।
यसैबीच बोलबम भक्तजनहरुले चतराबाट जल बोकेर पैदल हिँडेरै पिण्डेश्वर मन्दिरमा चढाउने चलन थियो भने यसपटकदेखि शिवजट्टाबाट जल ल्याएर चढाउने नयाँ प्रचलनको शुरुवात गरिएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । वडा नं १३ का वडाध्यक्ष काफ्ले र १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईको पहलमा यो प्रचलनको शुरुवात गरिएको उनीहरुले बताएका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौंलागाईंले धार्मिक सर्किटका रुपमा धरानलाई विकास गर्ने हो भने धार्मिक पर्यटनको अभियान अघि बढ्ने र यस क्षेत्रकै आर्थिक, सामाजिक र सांस्कृतिक उत्थान हुने कुरामा दुईमत नरहेको बताउँदै उपमहानगरपालिकाले पनि विभिन्न योजना अघि सार्नु जरुरी रहेको बताए ।
साउनको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । धरानको पिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहाँ पवित्र जल चढाउँदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ । यस वर्षको पहिलो सोमबार बोलबम भक्तजनलाई उछिन्दै स्थानीय भक्तजनको भीड बढेको थियो ।
पिण्डेश्वरको ऐतिहासिक महिमा भएपनि त्यसको प्रचार प्रसारको उचित व्यवसथापन हुन सकिरहेको छैन । भगवान शिवको आँशु उत्पति भएको पौराणिक महत्वको रुद्राक्षको उत्पति भएको पिण्डेस्वरलाई रुद्राक्षरनयका रुपमा शास्त्रहरुमा व्याख्या गरिएको छ ।क
शैव सम्पदाय अर्थात् शिवजीलाई मुख्य आस्थाका केन्द्र मान्ने मानिसहरुका लागि अत्यन्तै महत्वमको धार्मिक तीर्थस्थल भए पनि यसको महिमाको प्रचारप्रसार धरान र यस वरपर मात्र सीमित रहेको छ । हिन्दूहरुको आस्थाका तीर्थस्थलहरु वाराणसी, हरिद्धार जस्ता स्थलमा गएर प्रचरप्रसार गर्ने हो भने धार्मिक पर्यटकहरुको आगमनमा वृद्धि हुने देखिन्छ ।
विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ । यसैलाइै मध्यनजर गरी यस वर्ष विगत वर्षको भन्दा व्यवस्थित बनाउन सुरक्षा प्रबन्धसँगै खानेपानी, शौचालय तथा भक्तजनहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत गरिएको समितिका अध्यक्ष बनेपाली बताउँछन् । मधेशी सेवा समाज, नेपाल अग्रवाल सभा धरान एवम् नेपाल अग्रवाल महिला मन्च धरानले निःशुल्क भोजन साथै सचेत धराने समूहले निःशुल्क पानी वितरण गरिरहेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



































































