धरानः धरानमा तेजाब सेवन गरेका एक व्यक्तिको मृत्यु भएको छ ।
धरान-७, बगैंचाटोलका करिब ४५ वर्षीय सरोज विकको विराट शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिए ।
मदिराको सुरमा तेजाब सेवन गरेका उनी घाइते बनेका थिए । तत्कालै उनको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रतिष्ठानबाट थप उपचारका लागि मोरङको बुढीगंगा गाउँपालिका–स्थित विराट शिक्षण अस्पतालमा सारिएको थियो ।
आफ्नै घरमा मदिरा सेवनपछि विकले घरमै सरसफाइका लागि राखिएको तेजाब पिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । लगातारको उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि उनको दुई सातापछि मृत्यु भएको प्रहरीले जनाएको छ । घटना गत असार २३ गतेको हो ।