Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मनसुन फेरि सक्रियः भारी वर्षाको सम्भावना, कति पानी पर्नुलाई भारी वर्षा भनिन्छ ?

हाम्रो कोशी आवाज
साउन १२ २०८२, सोमबार
मनसुन फेरि सक्रियः भारी वर्षाको सम्भावना, कति पानी पर्नुलाई भारी वर्षा भनिन्छ ?

धरानः देशभर मनसुनी वायुको प्रभावले मौसम सक्रिय बनेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानमा रहँदा देशका अधिकांश भू-भागमा बदली र वर्षाको अवस्था सिर्जना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । यसका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना औँल्याइएको छ ।
आज राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षा जारी रहनेछ । रातिको समयमा पनि एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित सबै निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज दिउँसो: देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति: देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाड भूभागका केही स्थानतथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो।
यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।
त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।
यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रकाशित मिति: साउन १२ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend