धरानः धरानमा ट्याटु हाउसमा लागूऔषध फेला परेपछि ७ जना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं.–१५ स्थित बद्रीनाथ मार्गमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मार्दा लागूऔषध ब्राउन सुगर भेटेपछि ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धरान–१५ बस्ने ३७ वर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसमा कानुनबमोजिम खानतलासी गर्दा सो ट्याटु हाउसबाट लागूऔषध ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ । लागूऔषध फेला परेपछि ट्याटु हाउसका सञ्चालक योजनसहित धरान–१५ बस्ने २७ वर्षीय दीपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, धरान–८ बस्ने २४ वर्षीय सोमत राई, धरान–१९ बस्ने १९ वर्षीय असिम राई पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सो हाउसमा ब्राउन सुगर ६८० मिलीग्राम, ट्रामाडोल १०५४ पिस, कालेरो ९८५ पिस, डेक्लोमिन ३४ पिस फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा इनरुवा नगरपालिका वडा नं. स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेका धनकुटा साँघुरीगढी गाउँपालिका वडा नं. बस्ने २० वर्षीय करण राईलाई कानुनबमोजिम खानतलासी गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर ४.१७ ग्राम फेला परेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।