Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको मोटरसाइक्लमा गाँजा फेला, गाँजा ओसारपसारमा चलाखी

हाम्रो कोशी आवाज
साउन १६ २०८२, शुक्रबार
धरान आउँदै गरेको मोटरसाइक्लमा गाँजा फेला, गाँजा ओसारपसारमा चलाखी

प्रहरीलाई छक्याउँदै ल्याइन्छ गाँजा

धरानः धरानमा गाँजासहित दुईजना युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. २० सिरिसेवास हिले खोलामा लागूऔषध ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुईजना युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ८ जलारा बस्ने ३२ वर्षीय वीरेन राई रहेका छन् । को३८प २६९६ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट १३.११५ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । यस्तै, पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका ८ खुडी बस्ने ३८ वर्षीय मोहन राई पनि रहेका छन् । प्र–१–०२–०५२ प ९६५७ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा ११.१०५ केजी फेला परेको हो ।
धनकुटा साँगुरीगढीबाट धरानतर्फ आउँदै गरेको मोटर साइकलहरुलाई चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरीलाई समेत झुक्याउने हिसाबले कानुनतः बर्जित गाँजा ओसारपसार भइरहेको पाइएको प्रहरीले जनाएको छ । बिरामी बोक्ने एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधन, तरकारी बोक्ने गाडी, मोटरसाइकललगायत साना ठूला सवारी साधनमा लुकाएर र कोशी नदीमा पानीमा बगाएर तथा जमिन मुनी गाडेर लुकाइछिपाई समेत गाँजा ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेशमा लागूऔषध गाँजाको प्रयोग, बेचबिखन, ओसारपसारलाई नियन्त्रण गर्न तथा ओसारपसारमा संलग्न व्यक्तिहरुलाई कडाईका साथ कानुनी दायरामा ल्याउँदै आएको जनाएको छ ।
बढ्दो लागूऔषध गाँजाको ओसारपसार तथा वेचबिखनलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको प्रहरी टोलीले यस आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सुनसरीले १२ हजार ३७५ किलो ९२९ ग्राम, जिल्ला प्रहरी कार्यालय मोरङले ६ हजार ६५० किलो ४०० ग्राम, जिल्ला प्रहरी कार्यालय धनकुटाले ४ हजार १९४ किलो ३०० ग्राम, जिल्ला प्रहरी कार्यालय उदयपुरले १ हजार ८१० किलो ४८४ ग्राम, जिल्ला प्रहरी कार्यालय झापाले १ हजार ६५१ किलो २८२ ग्राम सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २६ हजार ७०५ किलो ५३८ ग्राम ९७ मि.ग्राम गाँजा बरामद गरेको छ भने बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका १ सय ६५ जना पुरुष र २४ जना महिला सहित ओसार पसारमा प्रयोग भएको ३१ वटा चारपाङ्ग्रे सवारी साधन र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।
यसैगरी खेतबारीमा आफै उम्रेका तथा लगाएको गाँजाको बोट तथा बेर्नाहरु नष्ट गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले १२ लाख ५९ हजार बोट तथा बेर्ना, भोजपुरले २८ लाख ४६ हजार बोट तथा बेर्ना, उदयपुरले १६ लाख ८ हजार ५ सय बोट तथा बेर्ना, सोलुले २९ हजार ७ सय बोट तथा बेर्ना, खोटाङले २६ हजार २ सय बोट तथा बेर्ना सहित बिभिन्न प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले जम्मा २ हजार ४ सय ६४ रोपनी क्षेत्रफलमा लगाएको १७ लाख ७२ हजार भन्दा बढी गाँजाको बोट तथा बेर्नाहरु नष्ट गरेको छ ।
लागू औषध गाँजाको ओसार पसार, बेचविखन तथा गाँजाको बोट र बेर्ना नष्ट गर्ने कार्यमा प्रहरीलाई साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता कार्य भए गरेको थाहा पाएमा नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी विनम्र अनुरोध समेत गरेको छ ।
यसैबीच कोशी प्रदेश प्रहरीले भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरेको कारण आर्थिक वर्ष २०८१÷०८२ मा २० करोड ४२ लाख भन्दा बढीको भन्सार छलीको सामग्री बरामद गरेको छ । विशेष गरी खुल्ला सीमाना भएको कारण हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न सिमा क्षेत्र तथा आसपासका नाकाहरूमा चेकजाँचमा कडाई तथा सुरक्षा व्यवस्था मजबुद बनाएको कारण जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामद गरी ७ करोड ३ लाख भन्दा बढी राजश्व संकलन गरेको छ भने मोरङले ५ करोड ५६ लाख भन्दा बढी, सुनसरीले ४ करोड २३ लाख भन्दा बढी, ताप्लेजुङले १ करोड ४ लाख भन्दा वढी, उदयपुरले ९६ लाख भन्दा बढी, इलामले ७० लाख भन्दा बढीको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको छ । प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१÷०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन तथा ओसार पसारमामा प्रयोग गरिएका ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: साउन १६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend