Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकबाट बसपार्क सारिँदै

हाम्रो कोशी आवाज
साउन १६ २०८२, शुक्रबार
धरानको भानुचोकबाट बसपार्क सारिँदै

धरानः धरान उपमहानगपालिका–८ मा निर्माण सकिएको ‘धरान स्मार्ट बसपार्क’ सञ्चालनको तयारी थालिएको छ ।
एक बिगाहा सात कट्ठा क्षेत्रफलमा बनेको बसपार्क सञ्चालनको अन्तिम तयारीमा पुगेको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिएका छन् । केहीदिनअघि मेयर साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघासहित निरीक्षणमा पुगेका मेयर साम्पाङले हाल बसपार्कको उत्तरी खण्डको जग्गाको केही भागमा विवाद भई मुद्दा परेको र सो भाग छाडेर भएपनि बसपार्क सञ्चालनको अन्तिम तयारी थालिएको बताए । ‘अहिले जति क्षेत्रफलमा बसपार्क बनेको छ, सोही क्षेत्रफलमै भएपनि बसपार्क सञ्चालनमा ल्याउँछौं ।’ उनले भने ।
यसअघि गत असार ३२ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाँकी काम थाँती राखेरै भएपनि बसपार्क सञ्चालन गर्ने निर्णय गरिसकेको समेत उनले जानकारी दिए । बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तीय प्रगति भएको उपमहानगरपालिकाका उपमेयर बेघाले जानकारी दिए । सङ्घीय सरकारको ५० र धरान उपमहानगरपालिकाको ५० प्रतिशत रकमबाट बसपार्क बनेको हो ।
विकोइ गीताञ्जली जेवी दुहवी सुनसरीले ३३ करोड ८० लाख ४७ हजार बढी लागत अनुमान गरिएको बसपार्कमा २०७८ असार ३० गते २३ करोड १५ लाख तीन हजार दुई सय ८८ रुपैयाँमा ठेक्का पाएर काम सम्पन्न गरेको हो । हाल बसपार्कको अधिकांश काम सकिएको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भर्खरै सम्पन्न भएको हो । बसपार्कमा एकैपटक ४७ सय बस र २६ जीप अट्ने क्षमता रहेको जनाइएको छ ।
कम्पनीका इन्जिनियर सरोजकुमार यादवका अनुसार भवनमा १८ वटा पसलका लागि सटर कोठा, भुईतल्लामा सवारी साधन राख्न मिल्ने, तीन सय यात्रु बस्न मिल्ने प्रतीक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी, सुरक्षाकक्ष, सावैजनिक शौचालय, प्राथमिक उपचार, कक्ष, मिनी मार्ट बसपार्क एरियामा सञ्चालनमा आउनेछन् ।
२०५९ सालमा तत्काली मेयर मनोजकुमार मेन्याङ्बोले तीनकुने सुन्दर वस्ती विकास आयोजनाको रुपमा सो योजना अघि सारेपछि २०७५ सालमा ४३ लाख खर्चेर धरान उपमहानगरपालिकाले डिपिआर तयार भई धेरै वर्षपछि सो सपना पूरा भएको हो ।
२०८१ असार मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने भएपनि विभिन्न कानुनी झमेलाका कारण बसपार्क सञ्चालनमा आउन एक वर्ष ढिलाइ भएको धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् । ‘केही ढिलाइ भएपनि अब भानुचोकको अव्यवस्थित बसपार्क सार्ने तयारी भइरहेको छ, अब केही समय कुर्नुपर्ने हुन्छ ।’ उनले भने । उनले बसपार्क सञ्चालनको जिम्मा कसलाई दिने भन्नेबारेमा अहिले निर्णय भइनसकेको बताए ।

प्रकाशित मिति: साउन १६ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend