धरानः धरानमा स्पोट्स अवार्ड २०८२ भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा फरक क्षमताका खेलाडी साथै प्रशिक्षकसहित ११ जना नगदसहित सम्मान गरिएको छ ।
धरान–१५ स्थित धरान किचनको हलमा धरान खेलकुद मञ्चद्वारा आयोजित धरान स्पोट्स अवार्ड २०८२ कार्यक्रममा एक फरक क्षमताका खेलाडी अनि प्रशिक्षकसहित ११ जना नगदसहित सम्मानित गरेको हो । यो वर्ष करातेतर्फ साहिल राई र महिलातर्फ वर्षा राई उत्कृष्ट घोषित दुवैजनालाई ३०– ३० हजार नगदसहित अवार्डले सम्मान गरिएको छ ।
त्यसैगरी विगत वर्षदेखि शुरु गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यसवर्ष ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार नगदसहित सम्मान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट प्रशिक्षकमा करातेतर्फबाट किरण लामाले अवार्ड प्राप्त गरे । उनलाई पनि नगद २० हजारसहित अवार्डले सम्मान गरियो । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेबलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुँदै नगद १५ हजारसँगै ट्रफी हात पारिन् ।
कार्यक्रममा मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटबल खेलाडी धरान–१७ का मनोज राईलाई घोषित बने । फरक क्षमताका टेबलटेनिस खेलाडी विवेक राई स्वर्गीय विक्रम राई स्मृति विशेष प्रतिभा पुरस्कारद्वारा सम्मानित बने । यस्तै, लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दीपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरेको छ ।
अवार्ड वितरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सांसद विजय राई रहेका थिए भने विशेष अतिथि कोशी प्रदेशका सांसद रमेश बस्नेतको उपस्थिति रहेको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेल, धरान–१८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतको उपस्थिति रहेको थियो । धरान स्पोट्स अवार्ड कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष किशोर राईले गरेका थिए । तस्वीरहरूः लक्ष्मण थापा










