धरानः प्रत्येक वर्ष साउनमा धरानस्थित पिण्डेश्वर मन्दिरमा लाग्ने बोलबम मेलामा यसवर्ष साउनको तेस्रो सोमबार करिब १ लाख ५० हजार भक्तजनले जल चढाएका छन् ।
सुनसरीको चतरास्थित कोशी नदीबाट जल बोकेर पैदल ल्याई पिण्डेश्वरमा चढाउने परम्परा छ । यस वर्षदेखि धरान–४ स्थित शिवजट्टाबाट पनि जल ल्याई चढाउने परम्पराको नयाँ थालनी शुरुवात भएको छ । ०४२ सालदेखि पिण्डेश्वरमा जल चढाउन बोलबम मेलाको सुरुवात गरिएको हो । साउनको तेस्रो सोमबार पक्षले भेटेको सोमबार भएकोले श्रद्धालु भक्तजनहरुको भीड लागेको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । ‘आइतबार बेलुका ९ बजेदेखि सोमबार ६ बजेसम्म नै श्रद्धालु भक्तजनहरुको भीड लाग्यो’, उनले भने, ‘करिब १ लाख ५० हजार भक्तजनले पिण्डेश्वरमा जल चढाएको अनुमान गरेका छौं ।’ यसपटक छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटानदेखि पूर्व पश्चिमसम्मका भक्तजनहरुको उपस्थिति रहेको उनले जानकारी दिए । उनका अनुसार यसपटक तराईका विभिन्न जिल्लाबाट भक्तजनहरु उर्लिएका थिए ।
साउनको सोमबार ब्रत बस्दै शिवजीलाई जल चढाए राम्रो श्रीमान् पाइने, श्रीमानसहित परिवारमा सुख समृद्धि हुने र मनोकामना पूरा हुने विश्वास गरिन्छ । धरानको पिण्डेश्वर अमृतको अंशवाट स्थापित भएकोले पनि यहाँ पवित्र जल चढाउँदा अमृतको प्रभाव पाइने स्कन्ध पुराणमा उल्लेख भएको बताइन्छ ।
देश–विदेशबाट भक्तजनहरुको भीड लागेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालेले जानकारी दिए । उनका अनुसार आइतबार राति ९ बजे नै मन्दिरको ढोका खोलिने गरिएको र सोमबार साँझसम्म भक्तजनहरु जल चढाउन आइरहेका थिए । ‘पहिला पहिलाजस्तै साउने सोमबार सयौं दर्शनार्थी बिहानैदेखि आएका छन् । अधिक भीड बढेको छ । भीड देखिएको छ ।’ उनले भने, ‘साउन महिनामा धरान बजार गेरुबस्त्रधारीहरुले पहेंलपुर हुने गरेको छ । विजयपुरको पाखा र धरानका मुख्य चोकमा यति बेला पहेलाबस्त्रधारीको भीड बढेको छ ।’
धरानको पुरानो बजार क्षेत्रमा साउनका भक्तजनहरुलाई लक्षित गरेर व्यापारीहरुले पहिलो लुगा नै बेच्न राख्ने गरेका छन् । भनौं साउन महिना धरान पहेलपुर हुने गरेको छ । पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित बढी हुने गरेको छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्ने र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गरेको विश्वास गरिन्छ ।
भक्तजनहरुलाई सहजताका लागि प्रहरी परिचालन, शौचालय र ट्राफिक व्यवस्थापनलाई ध्यान पुरयाएकोे वडाध्यक्ष भट्टराई बताउँछन् । साउनको चौथो सोमबार पनि बढी भक्तजन आउने उनले बताए ।
चतरादेखि जल ल्याई नांगो खुट्टाले हिँडेर गई पिण्डेश्वरमा जल चढाउने नै बोलबमको विशेषता र मौलिकता हो । तर, हिँड्न नसक्ने भक्तजनले भने यातायात साधनमा आई बोलबममा सहभागिता जनाउँछन् । चतरा कौशिकीमा स्नान गर्दा शरीर शुद्ध हुने धार्मिक विश्वास छ ।
स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको बताइन्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिरहरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोषी माताको पनि मन्दिर रहेको छ । यहाँको सरस्वती कुण्ड धार्मिक पर्यटकहरुका लागि आकर्षको केन्द्र बनेको छ ।





































