Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आइतबार सार्वजनिक विदा

हाम्रो कोशी आवाज
साउन २२ २०८२, बिहिबार
धरानमा आइतबार सार्वजनिक विदा

धरानः गाईजात्राको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
सामाजिक तथा सांस्कृतिक रूपमा मनाइने पर्व गाईजात्राको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक विदा दिइएको धरान उपमहानगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । नगर प्रमुखस्तरीय निर्णयले सार्वजनिक विदा दिइएको जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगर प्रमुख स्तरीय निर्णयअनुसार २५ गते सार्वजनिक बिदा दिने निर्णय भएको प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले जानकारी दिए ।
उपमहानगर मातहतका कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्था (अत्यावश्यकबाहेक), बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने कार्यालयले जनाएको छ । उपहानगरभित्र मनाइने विभिन्न पर्वहरूको संरक्षण गर्नु उपमहानगरको दायित्व समेत रहने जनाइएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आइतबारका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विहवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

प्रकाशित मिति: साउन २२ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend