धरानः विश्वभर आदिवासी दिवश मनाइरहँदा नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद् सुनसरीको आयोजनामा ३१ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस २०२५ धरान-jnn१५ स्थित किरात याक्थुङ चुम्लुङ हीममा बृहत भेलाका साथ मनाइएको छ ।
शनिबार विश्वभर मनाइएको ३१ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस धरानमा पनि विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् धरान चतरा लाइन पब्लिक स्कुलको खेल मैदानबाट विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्दै बजार परिक्रमा गरी धरान–१५ स्थित चुम्लुङ हीममा पुगी विभिन्न सांस्कृतिक प्रस्तुति कार्यक्रम गरी मनाइयो ।
‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि जनजातिको अधिकार सुनिश्चित गर, युएनडिआरआइपी र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नारासहितको कार्यक्रममा विशेष अतिथि एवं धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले आफ्नो शुभकामना मन्तव्यमा हिजोको राजतन्त्रात्मक व्यवस्थाले चिनेको आदिवासी जनजाति र अहिलेको संघीय गणतन्त्र, लोकतान्त्रिक व्यवस्थाले चिनेको आदिवासी जनजाति फरक भएको बताउँदै जनजाति अधिकार पनि केही हदसम्म प्रगतिशील रहेको बताए ।
कार्यक्रममा मुख्यवक्ता एवं समाजशास्त्री प्राडा कृष्ण भट्टचनले नेपालका आदिवासी जनजातिको पहिचान, अधिकार र योगदानबारे विस्तृत जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्की उपाध्यक्ष सीता राईले राखेकी थिइन् भने शुभकामना मन्तब्य किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नरेश इवारम, किराँत राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष एवं धरान नगरउपमहापालिकाका पूर्व मेयर तिलक राई, नेपाल आदिवासी जनजाति महासंघ धरान नगर समन्वय समितिका पूर्व अध्यक्ष सुवास हुक्पाचोङवाङलगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न जातिको भाषा, भेषभूषा र संस्कृति झल्काउने नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो । आयोजकले प्रमुख अतिथि मेयर हर्कराज राईलाई निमन्त्रणा गरे पनि उनी उपस्थित नभएको कार्यक्रमका सञ्चालक आयोजक सचिव कर्ण सुनुवारले जानकारी दिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ धरान नगर समन्वय परिषद्का संस्थापक अध्यक्ष कर्ण तमु र पूर्व अध्यक्षद्वय चित्र थापा मगर र सुवास हुक्पाचोङवाङलाई कदरपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रम हेमराज जिमीको अध्यक्षतामा सम्पन्न भएको छ । तस्वीरहरूः लक्ष्मण थापा
















