धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपकुलपतिमा धरानकै प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका छन् ।
स्रोतका अनुसार उनी भोलि बुधबार पत्र बुझ्न जाँदैछन् । यसअघि ६ जनाको नाम ‘सर्टलिष्ट’ मा परेको थियो । प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन परेकामध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिष्ट प्रकाशन गर्दा प्रा.डा. श्रेष्ठसहित प्रा.डा. कृष्णकुमार राई, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. श्रीजना श्रेष्ठ, प्रा.डा. रामेशराज कोइराला परेका थिए ।
अहिले सामाजिक सञ्जालमा बधाईहरु आउन थालेका छन् । अधिकांशले बल्ल धरानेले स्थानीय उपकुलपति पायो समेत लेखेका छन् । प्रा.डा. श्रेष्ठले आफू स्थानीय भएको र बीपी प्रतिष्ठानमा भिजेको भएकोले प्रतिष्ठान सुधारका हिसाबले लाग्ने बताएका छन् । ‘बीपीमा दक्ष प्रशासकको खाँचो छ’, उनी भन्छन्, ‘बीपीलाई सुधार गर्ने हिसाबले उपकुलपतिका लागि निवेदन दिएको थिएँ ।’ बीपी प्रतिष्ठान व्यवस्थापकीय हिसाबले लथालिङ्गजस्तै रहेको यसलाई सुधार ल्याउन आफ्नो पहलकदमी रहने बताएका छन् । उनले आफू धरानबासी नै भएकोले पनि धरानेको सपोर्ट लिएर प्रतिष्ठान सुधार्ने अभियानमा लाग्ने समेत बताएका छन् ।
धरानबासीले पनि पहिलादेखि नै उपकुलपति पदमा राजनीतिकरण नगरी क्षमता भएका व्यक्ति र धरानबासीलाई नै उपकुलपति बनाउनुपर्ने बताउँदै आएका थिए । उनी धरानकै माटोमा जन्मेर, हुर्केर धरानका जनताको सेवा गर्छु भनेर लागि परेका व्यक्ति हुन् । प्रा.डा. श्रेष्ठ प्रतिष्ठानमा आउने बिरामीका कुरुवाहरुलाई बस्नका लागि धर्मशाला समेत निर्माण गरी स्वच्छ छवि समेत बनाएका व्यक्ति हुन् । लामो समयदेखि बीपी प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख रहेर काम गरिसकेका उनी प्रतिष्ठानको एक कार्यकाल शिक्षाध्यक्ष भएर कुशलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेका छन् । उनले सन् २०१२ देखि २०१७ सम्म शिक्षाध्यक्षको रूपमा काम गरिसकेका छन् ।
यसअघि प्रतिष्ठानमा उपकुलपति नियुक्ति राजनीतिक भागबण्डामा हुने गर्दथ्यो । योग्य प्रा.डा.हरु धरानकै हुँदाहुँदै पनि राजनीतिक भागबन्डाले गर्दा प्रतिष्ठान धरासायी बन्दै गएको आवाज धरानबासीले उठाउँदै आएका थिए । विशेषतः चोर बाटो हुँदै अझ भन्ने हो भने पैसाको बिटोले प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुँदा बीपी प्रतिष्ठान खस्किँदै गएको हो चर्चा चुलिँदो थियो । धरानबासीले योग्य र स्वच्छ छवि भएका व्यक्ति आएको हेर्न चाहेको आवाज उठाइरहन्थे ।