धरानः नेपालीहरुले विगत केही दशकदेखि हरितालीका तीजलाई समावेशीको रुपमा मान्न थालेको छ । तीज आउन झण्डै एक महिना अगाडिदेखि गाउँ, टोल समाज अनि विभिन्न संघ संस्थाहरुले आ–आफ्नो समयअनुकुल समय पारेर सामूहिक तीज मनाउन थालेका छन् ।
धरान-३ स्थित तरकारी पालिकाअन्तर्गत भानुसब्जी तथा फलफूल व्यवसायी समितिको आयोजनामा तीज कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा विभिन्न समूहअन्तर्गत नृत्य गर्नेहरुमा प्रतिस्पर्धा समेत गराइएको भानु सब्जी तथा फलफूल व्यवसायी समितिका अध्यक्ष रमा खतिवडा (चौहान) ले बताइन् ।
अध्यक्ष खतिवडाले यो तीज एक महिना अगाडिदेखि प्रायः सबैले मनाउँदै आइरहेको बताउँदै भनिन्, ‘भानु सब्जी तथा फलफूल व्यवसायी समितिको मैले पहिलो महिला अध्यक्षको नेतृत्व सम्हालेकी हुँ, मेरो कार्यकालमा पहिलोपटक यस्तो कार्यक्रम राखेको हुँ, यहाँका तरकारी व्यवसायी आमादिदी बहिनीहरुको दिनचर्याको रुपमा बिहानदेखि साँझ अँध्यारो नहुन्जेलसम्म व्यस्त रहनुपरेको छ । यही अवस्थालाई मध्यनजर गर्दै सबैजना एकैठाउँ भेला भए मिठो मसिनो जे जस्तो जुट्छ त्यो खाएर नाचगानमा रमाउन सहुन् भन्ने उद्देश्यले यस्तो तीज कार्यक्रम राखिएको हो ।’
कार्यक्रममा सहभागी हुने आमा दिदीबहिनीहरुलाई प्रोत्साहनस्वरुप विभिन्न समूहअन्तर्गत नृत्य प्रतियोगिता प्रतिस्पर्धा गराउँदा नृत्यमा सहभागी जेष्ठ नागरिकको रुपमा धरान वडा नम्बर १३ बस्ने ७२ वर्षीया आमा धनकुमारी कटुवाललाई प्रोत्सहानस्वरुप नगद एक हजार नगदले सम्मान गरिएको थियो । कार्यक्रममा नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः नगद १५ सय, एक हजार, पाँच सयले सम्मान गरिएको थियो । नृत्यमा डम्वरी कार्की प्रथम, सविना खनाल ( बेघा) द्वितीय र रन्जुकुमारी चौधरी तृतीय बने । कार्यक्रममा उपस्थित कोशी प्रदेशकी पूर्व सांसद उमिता बराइली, कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीलगायतले उनीहरुलाई नगद र पुरस्कार दिए ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष विद्या शाक्य, वडा नम्बर– ३ कै जनप्रतिनिधि उषा लिम्बू (सुब्बा ), सव इन्जिन मनिता नेपाली, जेसिज धरानका नगर अध्यक्ष विदुर थाप, भानु सब्जी तथा फलफूल व्यवसायी समितिका सल्लाहकारद्वय धर्मराज तिम्सिना र लालबहादुर राई समेतको उपस्थित रहेको समितिका सचिव पूर्णबहादुर ( काजी) खड्काले जानकारी दिए ।
तस्वीरहरूः लक्ष्मण थापा











