धरानः धरानका एक व्यवसायी र उनकी छोरीलाई खोलाले बगाएको छ । मोटरसाइकलमा सवार बाबुछोरीलाई खोलाले बगाएर कोशी नदीमा पुरयाउँदा छोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
धरान–१६ बस्दै आएका जीवन राई र उनकी १९ वर्षीया छोरी अनिता राईलाई बराहक्षेत्रको चतरास्थित दूधपानी खोलाले बगाउँदा जीवनलाई भने प्रहरी र स्थानीयबासीले उद्दार गर्न सफल भएको र छोरी अनिता भने अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ । शुक्रबार करिब १ बजे बाबुछोरी बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्किरहेका बेला मोटरसाइकलमा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरु दुवैजनालाई खोलाले बगाएर कोशी नदीमा पुरयाएको थियो ।
वर्षा भइरहेको र पहाडतिरबाट भल सोरिएर आउँदा बाबुछोरीलाई बगाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिएका छन् । ‘दूधपानी खोला तर्ने क्रममा बीचमा आउनेबित्तिकै मोटरसाइकलसहित बाबुछोरीलाई नै बगाएर कोशी नदीमा पुरयाएको थियो’, उनले भने, ‘जीवनलाई भने तत्कालै उद्धार गरेर धरानस्थित बीपी प्रतिष्ठाननमा उपचारमा लागि पठाइयो, उनकी छोरी अनिता भने अहिलेसम्म बेपत्ता छिन्, आज पनि खोजी तीब्र पारियो तर कहीँकतै फेला पार्न सकेका छैनौं ।’
बगाएर कोशी नदीमा पुरयाएको बेला स्थानीय एकजना मिस्त्रीले देखेपछि स्थानीयबासी र प्रहरीलाई खबर पुगेको थियो । खोलाले बगाएर बाबुछोरी सँगै सँगै जस्तै कोशी नदी पुरयाएको पाइएको प्रहरीले जनाएको छ । अनितालाई कोशी नदीको भंगालोमा स्थानीयले एकपल्ट झुलुक्क देखेको र त्यसपछि अनिता नदीमा डुबेर बेपत्ता भएको पाइएको प्रहरीले जनाएको छ ।
शनिबार पनि खोजी तीब्र पार्दा स्थानीय केही व्यक्तिले ५० मिटर तल देखेको भनेको तर त्यहाँ पुगेर हेर्दा केही फेला नपारिएको प्रहरीले जनाएको छ । उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा दिनभर लागिपरेको प्रहरीले जनाएको छ ।
धरानस्थित बीपी प्रतिष्ठानमा उपचाररत जीवनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।