धरानः कोशी नदीमा डुबेर बेपत्ता बनेकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव भेटिएको छ ।
बराहक्षेत्र–१ चतराघाटस्थित दूधपानी खोलाबाट दुई दिनअघि बेपत्ता भएकी १८ वर्षीया अनिताको शव कोशी नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घुँडादेखि तलको भाग वालुवाले पुरिएको, अन्य भाग जमीनमाथि तैरिरहेको र टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शनिबार काइकको सहायताले खोजिएको र आइतबार बिहानैदेखि गोताखोरको टोली परिचालन भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवस कुँवरले शव कोशी नदी किनारमा तैरिरहेको अवस्थामा अनिताको शव फेला परेको जानकारी दिए ।
उनका अनुसार सुनसरीको बराहक्षेत्र- ९ राजाबासस्थित २६-८८ नोजबाट करिब १५० मिटर तल उनको शव भेटिएको हो । हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अनिता दुई दिनअघि बुबा जीवन राईसँग बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा चतराघाटस्थित दूधपानी खोलाले दुवैलाई बगाएको थियो । सोही क्रममा बुबा जीवन राईलाई भने त्यही दिन स्थानीयवासीले सप्तकोशी नदी किनारबाट जीवितै उद्धार गरेका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
शनिबार करिब १ बजे बाबुछोरी बराहक्षेत्र मन्दिरको दर्शन गरेर फर्किरहेका बेला मोटरसाइकलमा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरु दुवैजनालाई खोलाले बगाएर कोशी नदीमा पुरयाएको थियो । वर्षा भइरहेको र पहाडतिरबाट भल सोरिएर आउँदा बाबुछोरीलाई बगाएको थियो ।
खोलाले बगाएर कोशी नदीमा पुरयाएको बेला स्थानीय एकजना मिस्त्रीले देखेपछि स्थानीयबासी र प्रहरीलाई खबर पुगेको थियो । अनितालाई कोशी नदीको भंगालोमा स्थानीयले एकपल्ट झुलुक्क देखेको र त्यसपछि अनिता नदीमा डुबेर बेपत्ता भएको पाइएको प्रहरीले जनाएको छ ।