३७ जना ए प्लस र ए सहित शत प्रतिशत विद्यार्थी उत्तीर्ण, खुशीयाली विद्यार्थीले शिक्षकहरूलाई बाँडे लड्डु
धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले कक्षा–१२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।
नेपाल राष्ट्रिय परीक्षा बोर्डले लिएको २०८१ को फाइनल परीक्षामा ४६ जना विद्यार्थी सहभागी भएकोमध्ये ४ जना विद्यार्थीले ए प्लस, ३७ जना विद्यार्थीले ए र ९ जना विद्यार्थीले बि प्लस नतिजा ल्याएर पास भएको डाइरेक्टर, प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए । ‘शत प्रतिशत नतिजा निकाल्दा हामी औधी खुशी भएका छौं, जे होस् यो धरानमै उत्कृष्ट नतिजा हो भन्ने ठानेका छौं’, डाइरेक्टर, प्रिन्सिपल थापा मगरले भने ।
सहायक प्रिन्सिपल राकेश चौधरीका अनुसार २०८१ सालमा कक्षा–१२ को विज्ञान र व्यवस्थापन सङ्कायमा यस्तो नतिजा आएको हो । २०८० सालमा पनि ५ जना विद्यार्थीले ए प्लससहित शत प्रतिशत नतिजा निकाल्न सफल भएको उनले जानकारी दिए । ‘अघिल्लो वर्षपनि यस स्कुलबाट शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए, २०८१ को ब्याचमा पनि शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’ उनले भने । उनले प्रत्येक वर्ष एसईई र प्लस टुमा ए प्लस र ए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भइरहेको बताए ।
यसैबीच शुक्रबार स्कुल प्राङ्गणमा प्लस टुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका लागि बधाई तथा सम्मान कार्यक्रम आयोजना भएको छ । कार्यक्रम उपस्थित अधिकांश विद्यार्थी र अभिभावकमाझ उत्तीर्ण विद्यार्थीलाई खदा र मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा डाइरेक्टर तथा प्रिन्सिपल थापा मगर, पिआरओ मानबहादुर थापा मगर, सहायक प्रिन्सिपल चौधरी, प्लस टु कोअर्डिनेटर अनुप अग्रवाल, एक्ज्याम कोअर्डिनेटर समिर शाक्य, डिसिप्लिन इन्चार्ज शिव मगरलगायतले उनीहरुलाई खदा र मायाको चिनोले सम्मान गरे ।
कार्यक्रममा बोल्दै डाइरेक्टर, प्रिन्सिपल थापा मगरले कक्षा-१२ पास भएको उपलक्ष्यमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी पठनपाठनको लागि उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले ‘फुल टाइमर’ टिचर, सीमित विद्यार्थी, सहज रेखदेख, सम्पूर्ण डिग्री होल्डर शिक्षकहरू साथै अनुभवी, दक्ष, जेहेन्दार, मिहिनेती, इमान्दार अध्यापकहरू, मिहिनेती विद्यार्थी, सहयोगी र मिहिनेती अभिभावकका कारण स्कुलले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले यीनै कारणले पनि सियोन स्कुलले गुणस्तरीय शिक्षा दिन सफल भएको समेत बताए ।
उनले आफू सिङ्गापुरमा पढेको बताउँदै पठनपाठन कहिल्यै छाड्न नहुने सुझाए । उनले आफूलाई असल शिक्षा, संस्कार दिने विद्यालय, गुरु, अभिभावकलाई कहिल्यै भुल्न नहुने समेत बताए । उनले आफूले ५८ वर्षमा अमेरिकाबाट पिएचडी गर्दै गरेको बताउँदै भने, ‘हाम्रो पठनपाठन कहिल्यै सकिन्नँ, त्यही कारण पठनपाठनमा जोड दिइरहनु ।’ उनले जहाँ गएर पढेपनि आफ्नो भूमिलाई कहिल्यै बिर्सन नहुने सुझाए ।
कार्यक्रममा छात्रा यनुमा राई, सहायक प्रिन्सिपल चौधरी, प्लस टु कोअर्डिनेटर अग्रवाल, एक्ज्याम कोअर्डिनेटर शाक्य, डिसिप्लिन इन्चार्ज मगरलगायतले पनि बोलेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली विभागका प्रमुख सुरज राईले गरेका थिए । कार्यक्रममा अध्यापकहरूलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पास भएको उपलक्ष्यमा विद्यार्थीले अध्यापकहरूलाई लड्डु समेत बाँडेका थिए ।
सियोन स्कुल धरानकै गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको उत्कृष्ट स्कुल हो । हाल स्कुलमा प्लस टु (कक्षा–११ र १२) तर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्सको पठनपाठन भइरहेको छ ।



































https://www.facebook.com/share/v/1G7CDKNw6k/