धरानः बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नका लागि भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा लागू भएको टाइम कार्ड प्रभावकारी बन्दै गएको छ । गत २०८१ मंसिरदेखि लागू भएको टाइमकार्ड सिष्टम अहिले प्रभावकारी बन्दै गएको हो ।
कोशी प्रदेशमा जथाभावी तीब्र गतिमा गुड्ने सवारी साधनको गतिलाई रोक्न टाइमकार्ड लागू गरिएको र त्यो प्रभावकारी बन्दै गएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठ बताउँछन् । उनले टाइम कार्ड लागू भएपछि सवारी साधनहरूको ओभरटेक गर्ने प्रवत्ति हटेको बताउँदै भने, ‘यो प्रभावकारी बन्दै गएको हामीले महसुस गरेका छौं । यसले अहिले सडक दुर्घटना न्युनीकरणमा सघाउन पु¥याइरहेको छ ।’
यसैबीच अबदेखि धरानदेखि नै टाइमकार्डलाई थप विस्तार गरी धरानको जिरोप्वाइन्टदेखि कोशी कोशी पहाडी रुटमा विस्तार गरिने समेत उनले जानकारी दिए । ‘कोशी पहाडी रुटमा चल्ने विद्युतीय सवारीलगायत अन्य सवारी साधन यसबीचमा सामान्य दुर्घटना मात्र भई कुनै धनजनको क्षति ब्यहोर्नु नपरेकोले टाइमकार्डलाई थप विस्तार गरी धरानको जिरो प्वाइन्टदेखि कोशी पहाडी रुटमा विस्तार गर्दै लैजाने निर्णय भएको छ’, उनले भने ।
उनका अनुसार यसअघि अत्याधिक सवारी दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लगाउन आवश्यक महसुस गरी धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको पहलकदमीमा २०८२ असार १ गतेदेखि भेडेटारदेखि लेगुवा र सिधुवा बजारसम्म यात्रुबाहक सवारी साधनलाई टाइमकार्ड लागू गरिएको थियो । टाइमकार्ड लागू भएको करिब ७० दिनमा टाइमकार्डको प्रभावकारिताबारे समीक्षा बैठक हुँदा दुर्घटना न्युनीकरणमा सोचेभन्दा सफलता मिलेको उनको भनाइ छ ।
यसअघि पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको काकडभिट्टादेखि कोशी ब्यारेज, कोशी राजमार्गको विराटनगरदेखि धरानसम्मको रूटमा चल्ने यात्रुवाहक सवारी साधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरीमा टाइमकार्ड लागू भएको थियो । टाइमकार्डअनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको लागि ४५ मिनेट समय अवधि तोकिएको थियो भने इटहरीदेखि धरानसम्मका लागि ३८ मिनेटको समय अवधि तोकिएको थियो । काकडभिट्टादेखि बिर्तामोडसम्म ३० मिनेट, झापाको केर्खादेखि मोरङको उर्लाबारीसम्म एक घण्टाको समय तोकिएको थियो ।
कोशी प्रदेशमा दिनहुँजसो दुर्घटना बढिरहेपछि टाइमकार्ड लागू हुन थालेको हो । टाइमकार्ड लागू भएपछि सवारी साधनको स्पीडमा कमी आएको र दुर्घटना समेत न्यूनीकरण हुँदै गएको जनाइएको छ ।
टाइमकार्डमा सवारी छुटेको समय, रोकिने सडकका स्थान र अन्तिम गन्तव्यको दुरीका लागि समय निर्धारण गरिएको हुन्छ । तीब गति कम गर्न शुरु गरिएको यो व्यवस्थाले साँच्चै सवारी दुर्घटना घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
निर्धारित स्थानमा पुग्न समय तोकिने भएकाले गतिमा मनपरी पनि नहुने र प्रतिस्पर्धा समेत नहुने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख वीरेन्द्रसिंह थापा भन्छन्, ‘यस्तो व्यवस्थाले दुर्घटना कम हुन्छ ।’
उनले चालकहरूले सवारी यात्रुहरुलाई गर्ने व्यवहारमा सुधार गर्नुपर्ने र प्रहरीले लागू गरेको ट्राफिक टाइमकार्डलाई अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन् । -हाम्रो कोशी आवाज साप्ताहिकबाट