धरानः धरानका कलवार समुदायले कुल पूजा र धार्मिक नाच प्रस्तुत गरी भव्यताका साथ मनाएका छन् ।
कलवार सेवा समिति धरानले शनिबार धरान-१२ स्थित गीता मन्दिरको वंशीकला सदनको प्राङ्गणमा आयोजित श्री बलभद्र भगवान एवं सहस्त्रावाहु भगवान अर्जुन (बलराम) लाई कुलदेवताको रुपमा तेस्रो पूजा उत्सव २०८२ विधिवत पूजाआजा कार्यक्रम गरी मनाएका हुन् ।
भाद्र शुक्लपक्ष खष्ठीदेखि शुरु भई एकादशीसम्म पूजा चल्ने उर्लाबारीवासी वैदिक आचार्य पण्डित अनिल झाले जानकारी दिए । पहिलो चरणमा शनिबार बिहान ७ बजेदेखि शोभायात्रा गरेर शुरुवात गरिएको पूजा कार्यक्रम ११ः ३० मा सम्पन्न गरिएको थियो । कलशयात्रा तथा पूजा कार्यक्रम नेपाल कलवार कल्याण महासंघ केन्द्रीय अध्यक्ष इन्जिनियर रामचन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको धरान कलवार सेवा समितिका सचिव चन्दनकुमार गुप्ताले दिए ।
कुल पूजा कार्यक्रममा मोरङ, झापा, जनकपुर, दुहवी, इनरुवा र काठमाडौंलगायत नेपालका विभिन्न ठाउँहरूबाट हजारौंको संख्यामा कलवार समुदायहरुको उपस्थित रहेको थियो भने कार्यक्रममा अन्य विभिन्न समुदायका प्रतिनिधिहरुको विशेष उपस्थित रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मधेश प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष एवं सांसद् डाक्टर सोहन साहले कार्यक्रम समावेशी र प्रदेशभरिकै एक उत्कृष्ट कार्यक्रम जस्तो महसुस भएको बताए । ‘नेपाल अधिराज्यभर कलवार समुदायहरु जो जहाँ जुनसुकै अवस्थामा रहे पनि भगवान बलरामको पूजामा सामूहिक सरिक भएर संस्थागत हुँदै एकताको चिनारी दिँदै समावेशीको रुपमा कार्यक्रम गर्दै आएको देखिएको छ ।’ उनले भने । उनले भव्य र सभ्य कार्यक्रम सम्पन्न गर्ने अझ धरानका कलवार सेवा समितिलगायत समुदायलाई विशेष धन्यवाद समेत दिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले आफ्नो शुभकामना मन्तव्यका क्रममा धरानलाई बाहिरी पक्षबाट जे जस्तो दृष्टिकोणले हेरतापनि धरानका जातीय पर्व उत्सवमा सबै जातिका समुदायहरु एकै थलोमा समावेशीरुपमा पर्व मनाएर रमाउने गरेको बताए । यो संविधानले दिएको अधिकार भएको बताउँदै सबै जातजाति समुदायका मानिसहरुले आ–आफ्नो संस्कार र पर्व मान्न पाउनुपर्ने बताउँदै भने, ‘धरान भूमिमा कलवार समुदायले मनाइरहेको कुल पूजा सांस्कृतिक उत्सवको सधैं सम्मान गर्नुको साथै मेरो सदैव नै साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
कार्यक्रमका विशेष अथिति एवं कोशी प्रदेश बौद्धिक सनातन धर्म सेवा समितिका अध्यक्ष भीरकुटी चन्द्रेश्वर चौधरीले आफूले ४० वर्षअघि कलवार समुदायको भेला, सभा राखेर छोरीचेलीहरु विवाह हुँदा तिलक नलिने भन्ने प्रस्ताव र त्यो समयमा सहमति पनि भएको बताउँदै तर टेबुल मुनिबाट तिलक लेनदेन भइरहेको बताए । उनले यो कार्य समुदायले ७७ जिल्लाबाट बहिष्कार गर्नुको साथै यो प्रथाको अन्त्य हुनुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा शुभकामना दिने क्रममा मोरङ विराटनगरबाट विशेष अतिथि एवं डाक्टर मनोज भगतले वि.सं. २०४२ सालदेखि विराटनगरमा कलवार समुदायले बलभद्र पूजा सामूहिक रुपमा मान्दै आएको इतिहास रहेको बताउँदै पछि आएर कलवार सेवा समितिमा रजिष्ट्रेशन दर्ता भई आएको प्रष्टयाउँदै अहिले यो अवस्थामा आएको र अहिले कलवार समुदाय हरेक क्षेत्रमा अग्रसर र पहुँच भएकोमा आफू एकदमै गौरवान्वित भएको महसुस भएको बताए ।
कार्यक्रममा महिला सशक्तीकरणको बारेमा कलवार समुदायकी मोनिका चौधरी (खुश्बु) ले आफ्ना विचार राखेकि थिइन् । महिलाहरु घरायसी काममा मात्रै सीमित नरहेर अहिले देश र समाजको लागि पनि योगदान दिइरहेको उनको कथन थियो । ‘घरायसी कामहरुमा महिलाको सधै महत्वपूर्ण भूमिका रहेको छ । हामीले सुरुवातदेखि नै घर सम्हाल्यौं, बच्चाहरू हेरर्यौं, हुर्कायौं र बच्चाको पालनपोषण गरयौं समयको शुरुआतदेखि नै हाम्रो महत्व र महोत्वकांक्षाहरु यसैमा सीमित थिए तर आजको नारी चाहिँ अझै धेरै गर्न सक्छन् । यसको ज्वलन्त उदाहरण वर्तमान भारतको राष्ट्रपति महिला छिन् भने हाम्रो नेपालको पूर्व राष्ट्रपति पनि महिलानै थिइन् । त्यसैले हामीलाई अवसर दिएको खण्डमा सबै कुरामा अग्रसर रहनेछौं ।’
कार्यक्रममा स्वागत मन्तब्य धरान कलवार सेवा समितिका उपाध्यक्ष मिथलेश चौधरीले गरेका थियो भने कार्यक्रमको अध्यक्षता अर्जुनकुमार जैसवालले गरेका थिए । कार्यक्रमको पूजा संयोजकमा दीपक भगत र सह– संयोजकमा अजय जैसवाल रहेको थियो । त्यसैगरी कार्यक्रम अवधिभर कलवार समुदायलगायत अन्य समुदायका धार्मिक, सांस्कृतिक नाचगानको बेजोड प्रस्तुति रहेको थियो । प्रस्तुति दिनेहरुलाई हौसलास्वरुप प्रशंसापत्र र मायाको चिनो समेत दिएका थिए । महिला तथा बालबालिकाहरुको प्रस्तुति देखेर दर्शकहरुले नगद दिएर पनि सम्मान गरेका थिए ।
सोही कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सेवा समेत सञ्चालन भएको थियो । कार्यक्रम सञ्चालन कलवार सेवा समिति धरानका सल्लाहकार एवं शिक्षक अमित गुप्ताले गरेका थिए ।
तस्वीरहरूः लक्ष्मण थापा

































