साइबर अपराधविरुद्ध शिक्षा दिँदै प्रहरी
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा साइबर अपराध र कानुनबारे प्रहरीले शिक्षा दिएको छ । करिब ३ सय बढी विद्यार्थीलाई साइबर अपराध र कानुनबारे जानकारी दिइएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्र्तगत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गरेको उनले जानकारी दिए । प्रिन्सिपल श्रेष्ठले प्रहरीले सञ्चालन गरेको कक्षाबाट विद्यार्थीले साइबर अपराधका साथै सामाजिक सञ्जालको सुरक्षितबारे जानकारी लिएको बताए । सचेतना कार्यक्रममा साइबर अपराध, यसबाट कसरी जोगिने, र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारेविद्यार्थीहरूलाई जानकारी गराइएको थियो । यसबाट विद्यार्थीहरुले साइवर सचेतना र यसको प्रभावका बारेमा जानकारी लिएका छन् ।
प्रहरी नायब निरीक्षक विशाल कटवालले साइबर अपराध, सामाजिक सञ्जालमा बढ्दो ब्ल्याकमेलिङ, फेक अकाउन्ट, यौनजन्य शोषण र अनलाइन ठगी जस्ता विषयमा चेतावनीमूलक उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई सुझाउँदै डिजिटल सतर्कताको महत्वबारे प्रष्ट्याएका थिए । ‘हामी सरोकार केन्द्रमार्फत् शिक्षाको माध्यमबाट जनचेतना फैलाउँदैछौं । साइबर अपराध र सञ्जालको बढ्दो दुरुपयोगका कारण जीवनभरका सपना भत्किएका धेरैको कथा हामीले देखेका छौं । अब सचेतनाले मात्र यस्तो दुर्घटना रोक्न सकिन्छ ।’
डिजिटल युगमा साइबर सुरक्षा सबैका लागि अनिवार्य विषय बनेको र विशेषगरी विद्यार्थीहरूलाई समयमै सचेत गराउन सकेमा भविष्यमा हुने ठगी र अपराधबाट बचाउन सकिन्छ भन्ने उद्देश्य लिइएको सहायक प्रिन्सिपल कृष्णप्रसाद पौडेलले बताए ।
प्रहरी नायव निरीक्षक कटवालले साइबर अपराधलाई केवल प्राविधिक मात्र नभई सामाजिक र मनोवैज्ञानिक चुनौतीको रूपमा चित्रण गर्दै भने, ‘बालबालिका, किशोरकिशोरी र युवावर्ग सबैभन्दा बढी जोखिममा छन् । साइबर सुरक्षासम्बन्धी ज्ञान नहुदाँ यसको दुरुपयोग हुने सम्भावना उच्च हुन्छ । त्यसैले, परिवार र अभिभावकले समेत बालबालिकाको डिजिटल क्रियाकलापमा निगरानी राख्नुपर्छ ।’
पछिल्लो समय प्रविधिको विकाससँगै विद्युतीय उपकरण कम्प्युटर, मोबाइल तथा यसको नेटवर्क प्रयोग गरी हुने कुनै पनि घटनालाई साइबर अपराधका रुपमा लिने गरिन्छ । इन्टरेनेटको माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गर्ने, यौनजन्य हिंसा, क्रेडिड कार्ड तथा एकाउन्ट आदिबाट बैंकिङ कसुर गर्ने, अरुको विद्युतीय उपकरण तथा नेटवर्कमा क्षति पु¥याउने र राज्य विरुद्ध हानी नोक्सानी गर्ने गतिविधि बढ्दै गएका छन् ।
सचेतना कार्यक्रमबाट विद्यार्थीले साइबर अपराध तथा सामाजिक सञ्जालको उपयोगबारेमा जानकारी पाएका थिए । १८ वर्ष मुनिका छोराछोरीले कस्ता सोसल प्लेटफर्मको प्रयोग गर्छन्, इनटरनेटमा के हेर्छन् भन्ने कुरामा अभिभावकले नियमन गर्नैपर्ने प्रिन्सिपल श्रेष्ठको सुझाव छ । कम्तीमा पनि कक्षा–६ देखि ‘प्लस टु’ पढ्ने या बच्चा आफूसँग निर्भर छ भने यसमा उसको गोपनियता आफू मातहतमा राख्नुपर्ने उनले बताए । ‘सामाजिक सञ्जाललाई अपराधको माध्यम बनाइएका धेरै घटना छन् । यसबारे किशोर किशोरीहरु जानकार हुँदैनन् । यस्ता जोखिमलाई अभिभावकले बुझनुपर्छ,’ उनले भने । प्रिन्सिपल श्रेष्ठले यस्तो सचेना कार्यक्रमले विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन, ट्राफिक सचेतनालगायतका कक्षा पनि स्कुलले सञ्चालन गर्दै आएको उनले जानकारी दिए । प्रहरीको यस्ताखाले सचेतनाले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे ।
प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने कक्षा–९ का आर्यन अधिकारीले बताए । ‘हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।’
समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरीले जनाएको छ ।
किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागूऔषधको दुव्र्यसन अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने भएको छ । विद्यार्थीहरूले कक्षा–१० पास गरेपछि अभिभावकसँग बाइक र मोबाइलको माग गर्ने गरेकाले यसलाई नियन्त्रण गर्न अभिभावकले पनि साथ दिनुपर्ने बेला आएको छ । विभिन्न लोभका कारण साइबर अपराध हुने गरेकोले बालबालिकालाई यसबारे सिकाउन आवश्यक छ । साथीहरूको लैलैमा लागेर, विभिन्न अनलाइन गेमको लतमा फसेर यस्ता अपराध गर्ने गरेकोले यसमा सचेत हुन विद्यार्थी तथा अभिभावकलाई प्रहरीले आग्रह गर्दै आएको छ । साथै नचिनेको मान्छेलाई साथी बनाउन नहुने, अभिभावकको अनुमति विना कसैसँग अनलाइनमा कुरा गर्न नहुनेमा समेत प्रहरीको जोड छ ।
‘सावधानी अपनाऔं, साइबर अपराधबाट बचौं’ भन्ने मूल नारासहित साइबर अपराधसम्बन्धी प्रहरीको सचेतना कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको अभिभावकहरूको समेत जोड छ ।
















































