धरानः झुम्का कारागारबाट गत भदौ २४ गते फरार भएका दुई कैदीलाई प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिका–५ आँपटारबाट कर्तव्य ज्यान मुद्दामा २० वर्षको कैद भोगिरहेका ३८ वर्षीय हर्कबहादुर राई पक्राउ परेका छन् ।
उनलाई नेपाली सेनाको श्री कालीशक्ति इन्जिनियर गण याङ्शिला ब्यारेकका सह–सेनानी अमिर थापाको कमाण्डमा खटिएको टोली र इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब निरीक्षक (प्रसनि) वीरबहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
त्यस्तै, लागूऔषध मुद्दामा कैद सजाय भोगिरहेका कैलाली धनगढी उपमहानगर–७ घर भई हाल धरान–२ बस्दै आएका ३१ वर्षीय निखिल भनिने वसन्तराज जोशीलाई पनि धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीले जानकारी दिएको अनुसार हालसम्म झुम्का कारागारबाट फरार १२ कैदीलाई नियन्त्रणमा लिइसकिएको छ भने अन्य फरार कैदीको खोजी तीब्र पारिएको छ । कतिपय कैदी आफैं सम्पर्कमा आएको र कतिपय भागेपछि पक्राउ परेको प्रहरीले जनाएको छ ।
जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् ।
‘अहिलेसम्म कैदी सम्पर्कमा आएका छन्, सम्पर्कमा आउने क्रम जारी छ,’ प्रहरीले भनेको छ, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन्, कतिपय इलाका प्रहरीको सम्पर्कमा आएका छन् ।’ उनले केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर समेत ल्याएको जनाएको छ । महिला हिंसा, चोरी, ठगी, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।