Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाएकी सुशीला कार्की बनिन् देशको प्रधानमन्त्री

हाम्रो कोशी आवाज
भाद्र २७ २०८२, शुक्रबार
अन्ततः धरानको महेन्द्र बहुमुखी क्याम्पसमा पढाएकी सुशीला कार्की बनिन् देशको प्रधानमन्त्री

धरानः सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
उनले महेन्द्र बहुमुखी क्याम्पस धरानमा पढाएकी थिइन् । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेपछि २०३६ सालदेखि विराटनगरमा कानुन व्यवसाय थालेकी उनले त्यसै सिलसिलामा उनले २०४२ सालदेखि चार वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गरेकी थिइन् । विराटनगरमै रहेर बारका विभिन्न पदहरूमा रहेर काम गरेकी उनी पुस २०६१ सालमा वरिष्ठ अधिवक्ता बनेकी थिइन् ।
विराटनगरमा बसेर हक्की र निडर स्वभावमा कानुन व्यवसाय गरिरहेकी कार्कीलाई तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा ल्याउने प्रस्ताव अघि बढाएका थिए । ९ माघ, २०६५ मा सर्वोच्चको अस्थायी न्यायाधीश भएकी कार्की दुई वर्षपछि स्थायी बनिन् । अनि न्यायाधीश भएको सात वर्ष सात महिनापछि १ वैशाख, २०७३ मा कामु प्रधानन्यायाधीश भइन् ।
त्यसको तीन महिनापछि बल्ल संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेर उनी प्रधानन्यायाधीश बनेकी थिइन् । जेठ २०७४ सम्म प्रधानन्यायाधीश बनेकी उनले करिब १५ महिना न्यायपालिकाको नेतृत्व गरिन् । व्यक्तिको राजनीतिक पृष्ठभूमिलाई न्यायाधीश छनौटको आधार मान्न नहुने उल्लेख गर्दै ‘न्यायालयको मन्दिरमा प्रवेश गर्ने भए राजनीतिको चप्पल बाहिरै फुकालेर आउनुपर्ने’ भनी उनले दिएको अभिव्यक्ति त्यतिबेला चर्चित भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरेका हुन् ।
संविधानको धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यससँगै नेपालको इतिहासमा कार्की पहिलो प्रधानमन्त्रीसमेत बनेकी छिन् । त्यसबेला उनलाई तत्कालै निलम्बित भएको पत्र थमाइएको थियो । नेकपा एमालेलगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाएन । २२ वैशाख २०७७ मा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाइदिँदा कार्की सर्वोच्च फर्किइन् ।
यसअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की यसपटक जेन–जीको आन्दोलन र सत्ताबाट केपी शर्मा ओलीको बहिर्गमनपछि पहिलो महिला प्रधानमन्त्री बनिन् । धारा ६१ को उपधारा ४ अनुसार राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ ।
‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ,’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ । यस्तै आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने र उक्त मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा संसद् विघटन हुनेछ ।
जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । यसअघि राजनीतिक दलहरूले संसद विघटनको विपक्षमा उभिँदै आएका थिए । संसद विघटन गर्ने सहमति भएसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा सपथ लिने भएकी हुनन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन् । शीतल निवास स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् ।
अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा कार्कीले सपथ ग्रहण गरेसँगै कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पनि मन्त्रीको सपथ ग्रहण गर्ने जनाइएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend