धरानः धरानमा राजनीतिक दलहरूसहितको सर्वपक्षीय रयालीको आयोजना भएको छ ।
छाताचौकबाट ‘संविधानका रक्षा गरौं’ भन्ने प्लेकार्ड बोकेर निकालिएको सो रयाली भानुचौकमा गएर कोणसभामा परिणत भएको थियो । सर्वपक्षीय समन्वय समितिको आयोजनामा भएको रयालीमा दलका नेता, उद्योगी व्यवसायीका प्रतिनिधि, सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कोणसभामा बोल्दै महेन्द्र क्याम्पसका विद्यार्थी रविन्द्र श्रेष्ठले जेनजीको आन्दोलनको उद्देश्य र मर्मविपरीत आन्दोलनमा घुसपैठ भएर सार्वजनिक सम्पत्ति तथा व्यक्तिगत सम्पत्ति नष्ट गरिएको बताए । उनले गत भदौ २४ गते जेनजीको आन्दोलन समाप्त भइसकेपछि धरानमा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गरेको बताए । स्थायी सरकार र भ्रष्टाचारका विरुद्धमा छेडिएको आन्दोलन जेनजीको नाममा अराजक तत्वले विध्वंस निम्त्याएको उनको दावी थियो । उनले दलहरु सच्चिन आवश्यक रहेको बताउँदै भ्रष्टाचारविरुद्ध अझै निरन्तर खबरदारी गरिरहने समेत बताए । धरानको हकमा मेयर हर्कराज राई (साम्पाङ) को श्रमदानमा जाने व्यक्तिहरू समेत संलग्न भएको दावी गर्दै उनले निष्पक्ष छानविनको माग समेत गरे । उनले मेयर साम्पाङका अभिव्यक्तिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग समेत राखे ।
इन्द्रकला राईले संविधाानमा भएका त्रुटीपूर्ण बुँदाहरुलाई सच्याउनुपर्ने तर बलिदानीपूर्वक ल्याएको २०७२ सालको संविधान मास्ने काम गर्न नहुने बताइन् । सुनसरी उद्योग वाणिज्य संघका सदस्य विष्णु बरालले जेनजीको आन्दोलनका कारण अवसरवादीहरुले भाटभाटेनीलगायतका व्यवसायिक फर्ममा तोडफोड र आगजनी गरेका कारण दशैं नजिकिँदै जाँदा पनि धरानको व्यापार शुन्य प्राय रहेको बताए ।
सो अवसरमा आन्दोलनमा सहादत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै १ मिनेट मौन धारण गरिएको थियो भने घाइतेहरुको शीघै स्वास्थ्यलाभको कामना समेत गरिएको थियो ।
तस्वीरहरूः लक्ष्मण थापा



























