धरानः समयको परिवर्तनसँगै अहिले त्यो अवस्थामा पनि बदलाव आएको छ । पठनपाठनसँगै बरू डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ । सूचना प्रविधिमा अभ्यस्त भएका मानिसमात्र यो युगमा साक्षर र सबल बन्नसक्ने अवस्था आएको छ ।
यसैबीच स्कुलले नयाँ सूचना प्रविधि प्रयोगशाला (आइटी) ल्याब सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकासको पहुँच विद्यार्थीमाझ पु¥याउने उद्देश्यसहित ल्याबको सुरुवात गरिएको हो । यसले शिक्षण विधिलाई गुणस्तरीय तथा प्रतिस्पर्धी बनाउन सक्नेछ ।
विद्यालयका संस्थापक, अध्यक्ष वेनिन्द्र कट्वालका अनुसार ३५ लाख रुपैयाँको लगानीमा नयाँ आइटी ल्याब सञ्चालनमा ल्याइएको हो । एसीसहित सुविधा रहेको ल्याबमा ल्यापटप, ब्याट्री, इन्भर्टर, इन्टरनेटसहित अन्य प्रविधि जडान गरिएको छ । एकपटकमा ३८ जना विद्यार्थीले अध्ययन गर्न सक्ने सो ल्याब सञ्चालनमा आएसँगै विद्यार्थीले सूचना प्रविधिमा थप ज्ञान हासिल गर्न सक्नेछन् । शिक्षामा प्रविधिको प्रयोगले सिकाई दिगो र प्रभावकारी हुने विश्वास लिइएको छ ।
विद्यार्थीमा सूचना प्रविधिको क्षेत्रमा सैद्धान्तिक शिक्षा मात्र नभएर व्यवहारिक शिक्षा हासिल गर्न प्रयोगशालाको स्थापना गरिएको संस्थापक अध्यक्ष वेनिन्द्र कट्वालले जानकारी दिए । यो आधुनिक शैलीको प्रणालीमा शिक्षक र विद्यार्थी दुवैले प्रभावकारी ढंगबाट पठनपाठन गर्न गराउन तथा हरेक किसिमका आवश्यक शैक्षिक सामग्रीहरु सहजै प्रयोग गर्न सक्ने हुनाले पनि यो प्रभावकारी हुने ठानी लगानी गरिएको उनले बताए । शिक्षण–सिकाइमा डिजिटल प्रविधिको प्रयोग गर्दा यसबाट समग्र विद्यालयकै थप गुणस्तरमा परिवर्तन आउने आशा राखिएको उनले जानकारी दिए ।
प्रिन्सिपल निलमकुमार श्रेष्ठले यो महत्वपूर्ण कदम भएको बताए । ‘जताततै डिजिटल शिक्षा प्रणालीको अभ्यास भइरहेको छ’, प्रिन्सिपल श्रेष्ठले भने, ‘२१ औं शताब्दीमा सूचना प्रविधिको प्रभावकारी शिक्षण गर्नका लागि यो ल्याब स्थापना एउटा महत्वपूर्ण कदम हो ।’
‘हामी अहिले शिक्षामा प्रविधिको अधिकतम प्रयोग गरी कसरी सकारात्मक परिणाम ल्याउन सकिन्छ भन्नेतर्फ काम गरिरहेका छौं,’ उनले थपे, ‘विद्यार्थीलाईसुनाएर भन्दा देखाएर पढाउँदा चाँडो बुझाउन सकिन्छ भन्ने पनि हो । यसबाट विद्यार्थीहरू रमाउँदै सिक्छन् र नतिजा पनि सकारात्मक देखिन्छ भन्ने आशा राखेका छौं ।’
प्रिन्सिपल श्रेष्ठले विद्यालयले यसअघि नै ‘लेस पेपर’ को अवधारणा कार्यान्वयन गर्न सफ्टवेयरमा आधारित आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ । यसमा विद्यार्थीको उपस्थिति (ई–हाजिरी) देखि अनलाइन क्लास र विद्यालयको लेखा अभिलेख राख्नेसम्मका सुविधा छन् । एपमार्फत विद्यालयमा विद्यार्थी पुगे÷नपुगेको कुरा अभिभावकले आफ्नो मोबाइलमै थाहा पाउन सक्छन् ।
साथै विद्यार्थीले पढाइमा प्रगति गरिरहेका छन् कि छैनन् भनेर एपमै हेर्न सक्छन् । यसका लागि एपबाट विद्यार्थीको ‘प्रोग्रेस कार्ड’ हेर्न मिल्ने सुविधा छ । साथै विद्यालयका सूचनाहरु पनि एपमै उपलब्ध गराइन्छ । आकस्मिक रुपमा विद्यालयको कुनै सूचना दिन परे यो एप निकै उपयोगी हुने प्रिन्सिपल श्रेष्ठले बताए । यो एपले विद्यार्थी, शिक्षक र अभिभावकलाई जोड्ने काम गरेको उनी बताउँछन् । विद्यार्थी र शिक्षकको हाजिरीसँगै कुन पिरियडमा कुन विषयको पढाइ हुन्छ र कुन शिक्षकले पढाउने भन्ने कुराको जानकारी पनि एपमै हुन्छ । परीक्षा भइसकेपछि विद्यार्थीको प्राप्ताङ्क एपबाटै इन्ट्री गर्न सकिन्छ । अभिभावकले विद्यार्थीको रिपोर्ट कार्ड मोबाइल एपबाटै हेर्न सक्छन् ।
यस्तै, प्रदेशमै विद्यालयको विज्ञान प्रयोगशाला (साइन्स ल्याब) पनि यसअघि नै सञ्चालनमा छ । यो ल्याबमार्फत तल्लो कक्षादेखि कक्षा १२ सम्म पाठ्यक्रममा भएका र त्यससँग सम्बन्धित शैक्षिक सामग्रीहरुको प्रयोगात्मक सिकाइ हुने बताइएको छ ।
यसैबीच नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आएकी निरीक्षक सुशीला तामाङले विद्यालयको विभिन्न प्रयोगशालाहरूको निरीक्षण गरेकी छिन् । सो अवसरमा उनले रसायन शास्त्र प्रयोगशाला, भौतिक विज्ञान प्रयोगशाला, जीव विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला तथा आइटी ल्याबको समेत निरीक्षण गरिन् ।















