धरानः धरानमा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नुपरेको छ । भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैंकमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गरेका छन् । जेष्ठ नागरिकका लागि सरकारले दिइरहेको सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती भएको अधिकांशको गुनासो थियो ।
धरानकै कतिपय स्थानीय वडाले नै भत्ता वितरण गर्ने गरेका छन् तर कतिपय वडाका नागरिकले अहिले भत्ता बापतको रकम बैंकमा लिन जाँदा घन्टौं लाइनमा बस्नुपरेको र सास्ती भएको गुनासो बढेको हो ।
जेष्ठ नागरिक भत्ता दिन थालेपछि अहिले ग्लोबल आइएमई बैंकमा वृद्धवृद्धाहरुको भीड छ । बैंकका चिसा सिडीमा जेष्ठ नागरिकहरु दिनभर लाइन बस्नुपर्ने बाध्यता छ । घामपानी नभनी यसैगरी लाइनमा बसेर भत्ता बुझ्दै आएका छन् । त्यसरी लाइनमा बस्दा वृद्धवृद्धा थप बिरामी नै पर्ने अवस्था छ । भत्ता बुझ्न आएकी ७४ वर्षीया सरिता परियारले अलि सहजरूपमा भत्ता पाउन पाए यसरी घण्टौं लाइनमा बस्दा बुढाबुढीलाई धेरै गाह्रो हुने गरेको बताइन् । धेरै भीड हुन थालेपछि वृद्धवृद्धालाई उभिन गाह्रो पर्ने र बैंकलाई पनि सेवा दिन अप्ठ्यारो हुने गरेको उनले गुनासो पोखिन् । बैंकमा सास्ती पूर्वक आएको र यहाँ आएर भत्ता बुझ्न धौधौ परेको उनको गुनासो थियो ।
नेपाल सरकारले २०५४ सालदेखि एकल महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका, दलित, असहाय बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । सामाजिक सुरक्षा भत्ता लिन वडाहरुले तोकेको बैंकहरुमा उपस्थित हुनुपर्ने भनिएको छ ।
धरान–३ का वडाध्यक्ष विद्या शाक्यले आफूहरुले वडाका अशक्त जेष्ठ नागरिकहरुको नवीकरण गर्दा डाटा र चेक संकलन गरेर वडाका कर्मचारी बैंकमा गएर रकम ल्याएर घर घरमै पुरयाउने गरेको बताए । धरान–१४ का वडा सदस्य कमल प्रसाद भट्टराईले पनि अशक्तहरुलाई घर घरमै दिने व्यवस्था गरेको जानकारी दिए । अधिकांशले दशैंको मुखमा घाम पानी सहेर घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता आफ्नो वडाले हटाइदिए र वडाबाटै भत्ता लिन पाउनुपर्ने व्यवस्था गर्न माग समेत गरेका छन् ।
धरान–९ पुतली लाइनस्थित ग्लोबल आइएमई बैकमा भत्ता थाप्न सर्वसाधारणको लाइन । तस्वीरहरूः लक्ष्मण थापा












