धरानः धरानबाट हिँडेको कार र मोटरसाइकललाई पछ्याउँदै जाँदा गाँजा भेटिएको छ ।
कालाबञ्जारतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर मोटरसाइकल र बिआर ७१०२ नम्बरको कारलाई रोक्न खोज्दा सो मोटर साइकल र कार धरानतर्फ फर्कि भाग्न खोजेपछि प्रहरीले पछ्याउँदा आउँदा गाँजा भेटेको हो ।
प्रहरी टोलीले पछ्याउँदा कार रोकी कार चालक मोटरसाइकलमा पछाडि बसी धरानतर्फ भागेको प्रहरीले जनाएको छ । कारलाई कानुन बमोजिम चेकजाँच गर्दा कारभित्र लुकाई छिपाई राखिएको अवस्थामा ११ वटा प्लाष्टिकको पोकामा लागूऔषध गाँजा ३४० केजी बरामद भएको प्रहरीले जनाएको छ ।
कार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको साथै फरार रहेका मोटर साइकल, मोटरसाइकल चालक र कार चालकलाई खोजतलास गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ५ विशाल चोकमा लागूऔषध ओसार पसार भइरहेको छ भन्ने प्रहरीले सुइँको पाएपछि टोली खटिएको थियो ।











