धरानः धरानबाट फरार कैदी पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट भागी फरार रहेका कैदी धरान–५ तल्लो देउराली बस्ने २३ वर्षीय रुविन भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने मुद्दामा उनी कारागारमा थिए । यस्तै, तल्लोधरान–५ तल्लो देउरालीबाट नै कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका भोजपुर पौवादुङमा–६ बस्ने २९ वर्षीय दिपेश राईलाई पनि पक्राउ गरिएको प्रहरीले नाएको छ । प्रहरी वरिष्ठ हवल्दार गुलाब चन्द सरदारको कमाण्डमा खटिएको प्रहरीले टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको र इलाका प्रहरी कार्यालय धरानमा ल्याएर राखिएको डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट ६१५ कैदीबन्दी फरार भएका थिए । फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् ।