Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा शिक्षकको तलब जुटाउन देउसीभैलो खेलियो

हाम्रो कोशी आवाज
कार्तिक ३ २०८२, सोमबार
धरानमा शिक्षकको तलब जुटाउन देउसीभैलो खेलियो

धरानः धेरैजसोले देउसीभैलोबाट सङकलित रकम रमाइला कार्यका लागि खर्च गर्ने गर्छन्, तर धरानको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट सङकलन भएको रकम विद्यालयमा पढाउने शिक्षकको तलब भत्तामा खर्चिने भएको छ ।
धरान–१९ स्थित किरातेश्वर माध्यमिक विद्यालयमा दुईजना शिक्षक र एकजना सुरक्षा गार्ड निजी स्रोतबाट तलब भत्ता दिएर विद्यालय सञ्चालन भइरहेको छ । शिक्षकको तलब जुटाउने उद्देश्यले पनि सोमबार विद्यालयले ‘सांगीतिक कार्यक्रम’ सँगै देउसीभैलो कार्यक्रम आयोजना गरेको स्कुलका प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाले जानकारी दिए । उनअनुसार विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन समस्या भएपछि आयोजना गरिएको देउसीभैलोमा अघिल्लो वर्ष करिब डेढ लाख रुपैयाँ उठेको र यस वर्ष करिब तीन लाख रुपैयाँ उठ्ने आशा राखिएको छ ।
स्कुलले पत्रमार्फत् यसअघि नै विद्यालय प्राङगणमा देउसीभैलो कार्यक्रम आयोजना हुने जानकारी अभिभावकलाई गराइसकेको थियो । उनका अनुसार धरान–१९ का अधिकांश अभिभावकको हात हातमा कार्ड पठाइसकिएको र देउसीभैलो कार्यक्रममा मात्रै होइन अन्य दिनमा पनि आएर सहयोग गर्ने गरेका छन् ।
‘खासमा भन्ने हो भने प्लस टु तर्फ पढाउने शिक्षकहरू निजी स्रोतलाई तलब खुवाउनैपरयो’, प्रधानाध्यापक डा. पालुङवा भन्छन्, ‘यसको लागि सहयोग पुगोस् भनेर पनि यो कार्यक्रम आयोजना गरिएको हो, यसअघिको तिहारमा पनि अभिभावकको भरपुर सहयोगले धेरै राहत मिलिसकेको छ ।’
यो रकम निजी स्रोतका शिक्षकलाई तलब खुवाउन तथा विद्यालयको भौतिक संरचनालाई व्यवस्थित गर्न खर्च गरिने प्रधानाध्यापक डा. पालुङवाले जानकारी दिए । आर्थिक सङ्कलनका लागि तिहारमा यस वर्ष विद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सल्लाहकार र अभिभावकको सक्रियता रहेको उनले जानकारी दिए ।
सहयोगीदाताहरूकै कारण विद्यालयको आर्थिक अवस्था ठीकै रहेपनि शिक्षकलाई तलब खुवाउन नसकिरहेको अवस्थामा देउसीभैलोबाट संकलित रकमले केही सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेन बताउँछन् । उनका अनुसार विद्यालयमा हालसम्म निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षक शिक्षिकालाई तलब भत्ता अभिभावकले नै व्यवस्था गरिरहेका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर उकास्न अभिभावकको समेत सक्दो सहयोग रहँदै आएको समाजसेवी सरस्वती लिम्बूले बताइन् । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षिकाले समेत मज्जाले नाच्दै भरपुर मनोरञ्जन दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघकी अध्यक्ष रविना सुब्बा गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: कार्तिक ३ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend