धरानः धरानमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ११ मा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ३१ वर्षीय विकास परियारको घरमा कानुन वमोजिम खानतलासी गर्दा निजको घरबाट लागू औषध डिकोलिन–५०० ट्याब्लेट, ट्रामोल–५०० ट्याब्लेट फेला परेको थियो ।
यस्तै, २२ वर्षीय विजय परियार, धरान–१७ बस्ने ३६ वर्षीय इन्द्र राईलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको रामधुनी–०६ मा लागूऔषध कारोबार भइरेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका २५ वर्षीय सुमनकुमार चौधरीको घरमा कानुन वमोजिम खानतलासी गर्दा निजको घरमा लुकाई छिपाई राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको छ । ५.७३ ग्राम (पाँच ग्राम सात सय तीस मिलिग्राम ) ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका धरान उपमहानगरपालिका वडा नं.०८ बस्ने ३१ वर्षीय सुमन राई समेतलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।