Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-चतराः बाटो छ खतरा, जहीँतहीँ खाल्डैखाल्डा

हाम्रो कोशी आवाज
कार्तिक १६ २०८२, आइतबार
धरान-चतराः बाटो छ खतरा, जहीँतहीँ खाल्डैखाल्डा

धरानः मदन भण्डारी लोकमार्गको धरान–चतरा खण्डको यात्रा जोखिमपूर्ण रहेको छ ।
ठाउँपिच्छे खाल्डाखुल्डी र पानी परेपछि हिलाम्मे, घाम लागेपछि धुलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ । धरान–१७ पटनालीको जंगलदेखि बगुवासम्मको क्षेत्रका सडकमा हिजोआज खाल्डैखाल्डा छन् ।
बढी सवारी चाप हुने यो सडक मर्मत सम्भारमा कुनै निकायले ध्यान दिएको छैन । खाल्डाखुल्डीका कारण मोटरसाइकल र साना सवारी साधन गुडाउन निकै सास्ती भएको सवारी चालकहरुको गुनासो छ ।
स्थानीय तिलप्रसाद घिमिरेका अनुसार सडक समयमै मर्मत सम्भार नहुँदा वर्षातमा हिलो र हिउँदमा धुलो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । ‘सामान्य मर्मत गर्नसमेत कसैको ध्यान पुगेको देखिन्नँ । सडककै कारण दुर्घटना समेत बढेको छ ।’ उनी भन्छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– पटनाली छेऊको खाल्डा मेयरले होइन, मन्त्रीले टाल्नुपर्छ है, १० वटा जति पत्र पठाइसकेको छु, हुन्छ हुन्छ भन्दै बस्याछन् ।
वर्षातमा ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा आयोजना कार्यालय र निर्माण कम्पनीप्रति स्थानीवासी रुष्ट छन् । सोही सडकका कारण यात्रा झञ्झटिलो र लामो बनेको यात्रुको गुनासो छ । यसैबीच पटनालीबासीले जंगल क्षेत्रमा पर्ने सडक खण्डमा बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारसँग माग राखेका छन् । स्थानीय अप्सरा खत्रीले राती यात्रा गर्दा जंगल क्षेत्रमा हिँड्न नसकिने बताइन् । ‘अँध्यारोमा हिँड्दा चोरीलगायतका अन्य डरलाग्दो घटना समेत घट्न सक्ला कि भन्दै डराउँदै हिँड्नुपर्ने अवस्था छ, त्यसको लागि स्थानीय सरकारले बिजुली बत्ती जडान चाँडै गरिदिए राम्रो हुने थियो ।’ उनले भनिन् ।

प्रकाशित मिति: कार्तिक १६ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend