Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समर्थकको दावी- ‘हर्क साम्पाङको श्रम संस्कृति पार्टीले इतिहास रच्नेछ’

हाम्रो कोशी आवाज
कार्तिक १६ २०८२, आइतबार
समर्थकको दावी- ‘हर्क साम्पाङको श्रम संस्कृति पार्टीले इतिहास रच्नेछ’

धरानः हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् ।
आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि कुराकानीमा समर्थकहरुले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् ।
समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औंल्याइन् । उनले पार्र्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वास व्यक्त गरिन । पूराना पार्टीहरुले आफ्नो कर्तब्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उनको भनाइ थियो ।
‘हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ । आगामी दिनमा पार्र्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वस्त छौं । पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,’ उनले भनिन् ।
अर्की समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गरिन् । ‘माटो र ढुंङगा विना पृथ्बी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृती राखेका हौं । अनि चुनाव चिन्ह माटो रोजेका हौं,’ उनले अगाडि भनिन्,‘ आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ । साम्पाङले गरेको कामलाई निरन्तरता दिंदै देश बनाउने छौं ।’
अर्का समर्थक इन्द्रकुमार चाम्लिङले नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दावी गरे । उनले बोलेर वा भाषण गरेर मात्र देशको बिकास नहुने समेत बताए ।
उनले भने,‘श्रम गरेर मात्र देशको बिकास हुन्छ, बोलेर वा भाषण गरेर बिकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौं । देशमा श्रम गर्ने नेता चाहिएको छ । हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समूदाय नभनि पार्टी निर्माण गरेका हौं ।’
निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिकता प्रदान गरेको छ।
आइतबार आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई राजनीतिक दल दर्ता प्रमाणपत्र प्रदान गरेको हो। आयोगमा २ सय ४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-४ मा रहने प्रमाणपत्रमा उल्लेख छ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश विकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए। युवाहरूलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ।
उनले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कँदा सामाजिक अभियान्ताका रूपमा प्रस्तुत हुने उल्लेख गरे। हालः उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य छन्। चुनाव चिन्ह भने माटोको ढिस्को राखिएको छ।

प्रकाशित मिति: कार्तिक १६ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend