धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजका विद्यार्थीले प्रतिभा देखाएका छन् ।
विद्यार्थीका लागि कलेजले ‘टयालेन्ट शो २०८२’ नाम दिइएको प्रतियोगिता आयोजना गरेको थियो । गायन, नृत्य, क्यारिकेचर, वक्तृत्वकला, नाटकलगायतका विधामा विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा कक्षा–१२ का गत वर्ष २०८१ का बिजेता विद्यार्थीहरूलाई विशेष सम्मान समेत गरिएको थियो । रेओन बज्राचार्य (एकल नृत्य), अनुष्का समूह (समूह नृत्य), निर्दोष रोक्का (गायन), रिन्चेन तामाङ (चित्रकला), रेशिका लिम्बू (अंग्रेजी वक्तृत्वकला), प्रेम विश्वकर्मा (नेपाली वक्तृत्वकला), रेशिका शर्मा (अंग्रेजी निबन्ध), रोमिया राई (नेपाली निबन्ध) बिजेताका बनेको र उनीहरूलाई विशेष सम्मान गरिएको पब्लिक रिलेसन अफिसर अध्यापक रामबहादुर लिम्बूले जानकारी दिए ।
यस वर्ष विद्यार्थीले विभिन्न विधामा प्रतिभा प्रदर्शन गरेका थिए । एकल नृत्यतर्फ कक्षा–११ होटल म्यानेजमेन्टकी स्मारिका सेन ठाकुरी बिजेता बनिन् भने कक्षा–११ होटल म्यानेजमेन्टकै स्मारिका समूह बिजेता बनेको थियो । यस्तै, वाककलातर्फ कक्षा–११ विज्ञान सङ्कायका निशान विश्वकर्मा बिजेता बने भने गायनतर्फ कक्षा–११ होटल म्यानेजमेन्ट संकायका अरुष शिवा बिजेता बनेका छन् । बिजेताहरूलाई आगमी मंसिर २ गते धरान–१५ स्थित चुम्लुङ हिममा आयोजना गरिने स्वागत कार्यक्रममा पुरस्कार वितरण गरिने कलेजका पब्लिक रिलेसन अफिसर लिम्बूले जानकारी दिए ।
पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत वर्षेनी यस्तो प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्रमुख डम्बरकुमार तुम्वापोले जानकारी दिए । ‘कलेजका विद्यार्थी पढाइमा प्रदेश १ प्रथम, राष्ट्रियस्तरको दोस्रोसम्म बन्न सफल बनेका छन् नै, त्यसमा पनि अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीको प्रतिभा बाहिर निकाल्न हरतरहले कलेज लागिरहन्छ’, उनले थपे, ‘कलेजले अतिरिक्त क्रियाकलापअन्तर्गत नृत्य, गायन, बोल्ने, नाटकलगायतमा जोड दिँदै आएको छ ।’ उनले कलेजले गायनको त कक्षा नै सञ्चालन गर्दै आएको बताए ।
कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले आगामी दिनमा विद्यार्थीका लागि फरक फरक प्रतिभा पस्किने वातावरण मिलाइरहने बताए । कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक झाले गरेका थिए । कार्यक्रममा होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ म्यानेजमेन्ट संयोजक नुर खान, स्कुल इन्चार्ज नीरकुमार राई, परीक्षा नियन्त्रक विष्णुकुमार दाहाललगायतको उपस्थिति थियो ।
कार्यक्रमको निर्णायकहरुमा वाककलातर्फ नेपाली विषयका अध्यापक ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका सम्पादक भोजराज श्रेष्ठ र अङ्ग्रेजी विषयकी प्राध्यापक दिव्या झा, गायनतर्फ संगीत प्रशिक्षक विनायक राई र एसईई सिङ्गीङ आइडल २०२४ की विजेता कुसुम माझी (क्याम्रिन) र नृत्यतर्फ नृत्य प्रशिक्षक एलिसा ल्वागुन र एसईई आइडल २०२४ की बिजेता डिना लिम्बू रहेका थिए ।
कार्यक्रमको सञ्चालन छात्रछात्रा रविन्द्र श्रेष्ठ र निर्भिका भुजेलले गरेका थिए । कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
तस्वीरः हाम्रो कोशी आवाज


















