धरानः धरानमा पाटे बाघको बच्चा फेला परेको छ ।
धरान–१४ विजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा देखेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
धरान–१६ का १८ वर्षीय युसन राई, सिमन राई तथा धरान–१३ का १७ वर्षीय अमन लिम्बुले उक्त बाघको बच्चा सुरक्षित रूपमा नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाएका छन्। युवाहरूले नियन्त्रणमा लिएको बच्चा सुरुवाती रूपमा बिरालो जस्तो ठाने पनि आकार र चालढाल हेर्दा पाटे बाघको बच्चा हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार भेटिएको बच्चा बिरालोभन्दा केही ठूलो आकारको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले प्रारम्भिक अध्ययनमा उक्त बच्चा पाटे बाघ, चितुवा वा निगालेको हुन सक्ने बताए। उनले वन्यजन्तु संरक्षण ऐनअनुसार यस्तो अवस्थामा भेटिएका वन्यजन्तुहरू वन कार्यालयमा संरक्षणका लागि पठाइने बताए । धरानको हात्तीसार क्षेत्र वन क्षेत्रसँग नजिक भएकाले त्यहाँ वन्यजन्तुहरूको उपस्थिति समय–समयमा देखिने गरेको छ। स्थानीयले यसअघि पनि त्यही क्षेत्रमा चितुवा र स्याल देखिएको बताएका छन्। बाघको बच्चा देखिएको घटनाले धरान आसपासका वन क्षेत्रमा पाटे बाघको बथान हुन सक्ने अनुमान गरिएको छ।