दशैंमा टिका लगाएको र देउसी खेलेको पैसाले बाँडे जाडोको न्यानो कम्बल (६० तस्वीर र भिडियोसहित)
धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले सहाराविहीनहरूको मुहारमा खुशी ल्याएका छन् । विद्यार्थीले दशैंमा टिका लगाएको र तिहारमा देउसी खेलेको सङ्कलित रकम साथै विद्यालयले थपिदिएको रकमले जाडोका न्यानो कपडा वितरण गरेका हुन् । करिब ५५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको थियो ।
विद्यार्थीलाई ‘शिक्षासँगै संस्कार’ पनि सिकाउने उद्देश्यले धरान–१६ स्थित मानव सेवा आश्रममा आश्रित करिब ३१ सहाराविहीन मानवलाई जाडो मौसमका निम्ति कम्बल (ओढ्ने), खाद्यान्न साथै फलफूल बाँडिएको थियो । विद्यार्थीले ब्लाङ्केट २१ थान, फलफूल २७ के.जी., चामल २५ के.जी., टुथपेष्ट र ब्रस २१/२१ थान, बिस्कुट ३ प्याकेट, साबुन १ कार्टुन, खाने तेल १० लि., साग ५ के.जी., फ्रुटी जुस १ कार्टुन, मसलन्द खर्चका निम्ति : रू. २७ सय सहयोग गरेका थिए । विद्यालयको ‘शिक्षासँगै संस्कार’ कार्यक्रमअन्र्तगत आयोजित अत्यन्तै परोपकारी कार्यमा विद्यार्थी सहभागी भएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । विद्यालयका विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निःस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले मुख्यतः यस्तो कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।
कक्षा–९ मा अध्ययनरत् विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिकरूपमा सङ्कलित सहयोग रकमबाट सो सामग्री बाँडिएको थियो । सामग्री पाएपछि सहाराविहीन, असहायहरुको मुहारा खुशी छाएको कक्षा–९ की छात्रा आकृति खातीले जानकारी दिइन् । छात्र नामसाम राईले आश्रित बालबालिकालाई सहयोग गर्न पाउँदा गौरवको महसुस गरेको बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रम धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख धु्रव खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि, प्रिन्सिपल, शिक्षक, विद्यार्थी प्रतिनिधि र अभिभावक प्रतिनिधिहरूले संयुक्तरुपमा सो विद्यालयका विद्यार्थीहरूलाई सहयोग हस्तान्तरण हस्तान्तरण गरेका थिए । दुवै विद्यालयका विद्यार्थीहरूलाई एक आपसमा अन्तरघुलनका निम्ति अन्तरक्रियासमेत गराइएको थियो । पुण्यकार्यको संयोजन शिक्षक भवानीप्रसाद खतिवडाले गरेका थिए ।
‘विशेषतः विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न र असल संस्कार दिनुपर्छ भन्ने हिसाबले वर्षेनी यस्तो कार्य गर्दै आएका छौं’, प्रिन्सिपल श्रेष्ठले भने, ‘आगामी दिनमा पनि यस्तो सहयोगका कार्यक्रम जारी रहन्छ ।’ वर्षेनी यस्ता मानवीय कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।
यसअघि विद्यार्थीले धरान–१५ स्थित ज्ञानचक्षु विद्यालयका सबै विद्यार्थीलाई जाडोका न्यानो कपडा (ट्रयाकसुट) वितरण गरेका थिए भने त्यो भन्दा अघिल्लो वर्ष इटहरीस्थित ‘माया घर नेपाल’ लाई सहयोग गरेको थिए ।
‘हामी धेरैजसो अभिभावकले आफ्ना नानीबाबुहरुलाई सुविधा र सुख दिने नाउँमा साँघुरिएको समाजमा जीवनको एक पाटो सुख मात्र देखाइ हुर्काइरहेका छौं, हाम्रो समाजमा कस्ता–कस्ता मानिसहरु हुन्छन्, कतिसम्म दुःख–कष्ट, पीडा भोगेका छन् र अन्त्यमा कस्तो कस्तो अवस्थासम्म पुगेर जीवनयापन गरिरहेका छन् भन्ने कुरा फिल्डमै पुगेर हेर्दा विद्यार्थीहरूले अत्यन्तै राम्रो सिकाइ भएको अनुभव गर्न सक्छन् भन्ने हामीले सोंचेका छौं ।’ पुण्यकार्यको संयोजक शिक्षक भवानीप्रसाद खतिवडाले भने ।





























































