Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा साम्पाङले बनाए चुनावी माहौल, प्रारम्भिक एजेन्डा सार्वजनिक

हाम्रो कोशी आवाज
मंसिर १६ २०८२, मंगलबार
धरानमा साम्पाङले बनाए चुनावी माहौल, प्रारम्भिक एजेन्डा सार्वजनिक

धरानः हर्कराज राई (साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ ।
धरान उपमहानगरका प्रमुख समेत रहेका उनले मङ्गलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गरेका हुन् । यो घोषणापत्र प्रारम्भिक घोषणापत्र भएको समेत उनले जानकारी दिएका छन् ।
घोषणापत्रमा सांसदहरू मन्त्री बन्न नपाउने प्रस्ताव अघि सारेको छ । यदि पार्टीबाट निर्वाचित कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गर्ने जनाइएको छ । सांसदको मुख्य काम कानुन बनाउने भएको भन्दै पार्टीले मन्त्री बन्नका लागि सम्बन्धित क्षेत्रको विज्ञ हुनुपर्ने घोषणापत्रमा जनाइएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव गर्दै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जातिको हुनुपर्ने घोषणापत्रमा जनाइएको छ ।
उनले जनतालाई देश र माटोसँग जोड्नु आवश्यक रहेकोले आफूले यो एजेन्डालाई प्रमुखताका साथ अघि बढाएको उनले जानकारी दिएका छन् । ‘योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’ उनले भनेका छन् । पार्टीका अध्यक्ष समेत रहेका राईले भने, ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभई, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
मेयर साम्पाङले दल दर्ता गरेपछि उनले कोशी प्रदेशमा भेटघाट र प्रचारलाई तीव्र पारिरहेका छन् । उनी कोशी प्रदेशका विभिन्न जिल्ला ताप्लेजुङदेखि भोजपुरसम्म, झापादेखि सुनसरीसम्म प्रचार र भेटघाटलाई तीब्रता दिइसकेका छन् । सरकारले आगामी २१ फागुनमा चुनावको मिति तय गरेसँगै साम्पाङले पनि चुनाव केन्द्रित गतिविधि गर्न थालेका हुन् ।
यसै सिलसिलामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गर्दै ‘हर्कवाद’ लाई मूल राजनीतिक दर्शन मानेको यस पार्टीले शिक्षा र राष्ट्रियताका विषयमा पनि कडा नीतिहरू प्रस्ताव गरेको छ । जारी विज्ञप्ति अनुसार घोषणापत्रले शासकीय स्वरूप, शिक्षा, राष्ट्रियता र अर्थतन्त्रमा आमूल परिवर्तनको प्रतिबद्धता जनाएको छ । जसअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि अनिवार्य सैनिक तालिम लिएर मात्र उच्च शिक्षा हासिल गर्न पाइनेछ भने विद्यालयमा साताको तीनदिन मात्र सैद्धान्तिक पढाइ र बाँकी ४ दिन उत्पादनमूलक काममा लगाइनेछ भनिएको छ ।
घोषणापत्रमा नेपालमा रहेका सम्पूर्ण आईएनजीओहरू खारेज गर्ने, सीमा सुरक्षामा सेना खटाउने र वैवाहिक अङ्गीकृत नागरिकताका लागि ५ वर्ष अनिवार्य बसोबासको सर्त राखिएको छ । सरकारी कर्मचारीले गल्ती गरेमा सरुवा नभई सिधै बर्खास्त गर्ने र श्रमदानलाई राष्ट्रिय नीतिको रूपमा लागु गर्ने पार्टीको योजना छ ।
नागरिकताको विषयमा पनि पार्टीले कडा अडान राखेको छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी नागरिकले निरन्तर ५ वर्ष नेपालमा बसोबास गरेको र विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
आर्थिक नीति अन्तर्गत पार्टीले ‘वैज्ञानिक कर प्रणाली’ लागु गर्ने बताएको छ । जसअनुसार धनी वर्गबाट बढी कर लिएर गरिबलाई सहुलियत दिइनेछ । मेयर साम्पाङले धरानमा सुरु गरेको ‘श्रमदान’ अभियानलाई राष्ट्रिय नीतिकै रूपमा विकास गरी सबै नागरिकलाई श्रमदानमा जोड्ने पार्टीको योजना छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने घोषणा पत्रमा उल्लेख छ । विदेशी लगानी लिँदा बिनासर्त मात्र स्वीकार गरिने र सरकारी चालु खर्चमा व्यापक कटौती गरी मितव्ययी अर्थतन्त्र निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
पार्टीको अवधारणापत्र अनुसार वैज्ञानिक कर लागु गर्ने जनाइएको छ । उक्त नीति अनुसार धनीबाट धेरै लिएर गरिबलाई बचाउने नीति लिने पनि उल्लेख छ ।
अवधारणा अनुसार राज्यको सबै अंगहरूमा आदिवासी, जनजाति, खसआर्य, मधेशी, दलित, मुस्लिम र अल्पसंख्यक सिमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने गरी समानुपातिक प्रतिनिधित्व गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगीकार गर्ने नीति रहेको पनि उनले बताए ।
०७९ सालको निर्वाचनअघि एउटा अटोमा हाते माइक बोकेर प्रचारमा हिँड्दा साम्पाङलाई कसैले पत्याएका थिएनन् । २०७६ को स्थानीय तह उपनिर्वाचन पाएको ४२२ मत आएपछि उनलाई पत्याइएन तर साम्पाङल फेसबुक स्टाटस र सार्वजनिक अभिव्यक्तिका कारण चर्चामा आइरहे । २०७९ को स्थानीय चुनाव जितेर धरानको मेयर बनेका उनले एकाएक पार्टी खोलेर चुनावमा होमिएका छन् । उनले अहिले धरानमा चुनावी माहौल बनाइसकेका छन् भने अन्य दलहरुले चुनावी माहौल बनाइसकेका छैनन् । अहिले उनीहरु पर्ख र हेरको रणनीतिमा छन् ।
पार्टी दर्ताको प्रमाणपत्र पाएपछि उनले मोरङको लेटाङदेखि पार्टी विस्तारको अभियानलाई तीब्रता दिएका हुन् । साम्पाङको क्रेज धरानमा भन्दा बाहिर धेरै रहेको विश्लेषण समेत हुने गरेको छ ।

प्रकाशित मिति: मंसिर १६ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend