धरानः सुनसरी जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को उपाधि सुनाखरी रेडले जितेको छ। धरान–१७ स्थित एन्फा एकेडेमी मैदानमा बुधबार भएको निर्णायक फाइनलमा सुनाखरी रेडले नेपाल पुलिस स्कुललाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै पहिलो संस्करणको पुरस्कार पोल्टामा पारेको हो।
दुवै टिमले निर्धारित समयमा बराबरी खेलाएपछि फाइनल टाइब्रेकरमा पुगेको थियो। निर्णायक प्रहारमा सुनाखरी रेडका एलिन थापा मगर, श्रीहाङ राई र प्रनिस राईले गोल गर्न सफल भए भने अनिस गुप्ता र राजेश ओझाको प्रहार बाहिरियो। नेपाल पुलिसका समिर राई र अनुराग राईले गोल गरे पनि जोनिस राई, उज्जवल थापा र कृष्ण राईका प्रहार सफल हुन सकेनन् ।
उपाधिसँगै सुनाखरी रेडले नगद ५० हजार पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस स्कुलले २५ हजार हात पार्यो । प्रतिस्पर्धात्मक खेलभर दुवैपक्ष बराबरीमा रहेकाले जित–हारको निर्णय टाईब्रेकरमै भएको थियो ।
फाइनलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुलका कृष्ण राई घोषित भए । उनले नगद १ हजार प्राप्त गरे । व्यक्तिगत विधातर्फ सुनाखरी रेडले स्पष्ट वर्चस्व जमायो । वेष्ट गोलकिपर रोजेश ओझा, बेष्ट डिफेन्डर करण थापा, बेष्ट कोच इन्दु रसाइली, हाईस्कोरर श्रीहाङ राई घोषित भए। यी सबैले जनही २५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाए। बेष्ट फरवार्ड भने नेपाल पुलिस स्कुलका समिर राई बने ।
फेयर प्ले टिमको रुपमा प्रभात इङ्लिस बोर्डिङ स्कुल छनोट भयो । टोलीले नगद ५ हजार पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताको वष्ट प्लेयर सुनाखरी रेडका एलिन थापा मगर घोषित भए । उनले नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता, उपबिजेता लगायत अन्य विभिन्न शीर्षकमा उपाधि पाएका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एन्फाका केन्द्रिय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेस अध्यक्ष किशोर राई, सुनसरी जिल्ला फुटबल सङ्घका अध्यक्ष नवीन राई, धरान-११ का वडा अध्यक्ष लोकेन्द्र फागो, सुनाखरी एकेडेमीका प्रीन्सिपल मिलन राई, प्लस टु संयोजक तपकुमार राई लगायतले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरे।
मङ्सिर १७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पहिलो सेमिफाइनलमा विजयी सैनिक आवासीय विद्यालय र दोस्रो सेमिफाइनल विजेता ज्वालामुखी माविले जनही ५–५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात, विजयपुर, ज्ञानकुञ्ज, लिबर्टी, देउराली बालबालिका, माउन्ट हर्मन, सैनिक आवासीय, हिबिस्कस, बुद्ध आदर्श, लर्ड बुद्ध झुम्का तथा ज्वालामुखी विद्यालय सहभागी थिए।