धरान: धरान उपमहानगरपालिकामा गाँजासहित अटो चालक पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका–१३ फुस्रेस्थित चिण्डेडाँडाबाट धरानतर्फ आउँदै गरेको को १ त ५९३४ नम्बरको अटो शंकास्पद देखिएपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा अटोभित्र लुकाइ छिपाइ राखिएको ५ पोका तयारी गाँजा फेला परेको सशस्त्र प्रहरी बेस धरानका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदन आचार्यले बताए। उनले बरामद गरिएको गाँजाको तौल १०९.५६ केजी रहेको जानकारी दिएका छन्।
गाँजासहित धरान उपमहानगरपालिका–१३ निवासी अटो चालक २८ वर्षीय राकेश मरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्यले बताए। उनले बरामद गरिएको लागूऔषध गाँजा, अटो र चालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।