धरानः धरान उपमहानगरपालिकाको १२५ औं स्थापना दिवसको अवसरमा पुस २० एकदिनमात्रै धरान डे अर्थात् ‘धरान उत्सव’ मनाइने भएको छ ।
आधुनिक धरान शहर स्थापना भएको १२५ औं वर्षको अवसरमा एकदिन सार्वजनिक विदा समेत दिँदै धरान उत्सव मनाउने तयारी थालिएको हो । उपमहानगरले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापनाको दिन मान्दै धरान उत्सव मनाउँदै आइरहेको छ ।
बुधबार धरान उपमहानगरपालिकास्थित कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ले उपमेयर अइन्द्रविक्रम बेघा, वडाध्यक्षहरू, राजनीतिक दलका नेता, सुरक्षा निकाय साथै आदिवासी जनजाति संघका प्रतिनिधिहरुसँग छलफल समेत राखेका थिए । कार्यक्रममा पुस २० गते स्थानीय बिदा दिइने पनि जानकारी दिइयो ।
उत्सव गत वर्षहरूमा पाँचदिनसम्म मनाइने भएपनि यसवर्ष गृह मन्त्रालयले नै परिपत्र गर्दै पुस २१ गतेदेखि विविध गतिविधि नगर्नू भनेपछि एकदिनमात्रै धरान डेलाई उत्सवका रुपमा मनाउन लागिएको आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले जानकारी दिए । ‘त्यसै कारण पनि यसपल्ट सम्झनास्वरुप १२५ औं स्थापना दिवस मनाउन गइरहेका छौं ।’ उनले थपे ।
यस वर्ष पुस २० गते सो दिन १० बजे भेला भएर ११ बजे विभिन्न जातजातिको झाँकीसहितको रयाली निकालिने भएको छ । पब्लिक हाइस्कुलको खेल मैदानबाट निस्किने रयाली बजार परिक्रमापछि सोही स्थानमा आएर टुंगिनेछ । झाँकी र रयालीमा सहभागी बन्न नगरवासीमा मेयर साम्पाङले आग्रह गरेका छन् । उत्सवको उदघाटनपछि करदाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।