धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) र प्रगतिशील लोकतान्त्रिक पार्टीका (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किरातीबीच अर्थपूर्ण भेटघाट भएको छ ।
धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका नेता राईले धरान पुगेका किराँतीसँग गरेको भेटलाई धेरैले अर्थपूर्णरुपमा हेरेका छन् । उनीहरूबीच राजनीतिक सहकार्यको विषयमा छलफल भएको श्रम संस्कृति पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए । संघीय संसदको चुनाव हुन लागेको यो बेलाको भेट राजनीतिक मात्रै नभई अर्थपूर्ण भेट भएको उनले बताए । दुईबीच चुनावी तालमेलको सम्भावना हुनसक्ने हिसाबले पनि लिइएको छ ।
पूर्वमन्त्रीसमेत रहेका किराँती यसअघि भोजपुरबाट निर्वाचित सांसद हुन् भने यसपटक सुनसरी क्षेत्र नं. १ र भोजपुरबाटै समेत सिफारिस भएका छन् । यसअघि किराँती र मेयर साम्पाङबीच धरान–१७ को एयरपोर्टको विषयमा दोहोरी पनि चलेको थियो । मेयर साम्पाङले किराँतीकै कारण धरान एयरपोर्टको विषयमा पूर्णतवरले निर्णय लिन नसकेको आरोप समेत लगाएका थिए । उता किराँतीले भने धरानमा एयरपोर्ट बन्न नसक्ने ठोकुवा गर्दै आएका थिए ।
धरानमै भएको भेटमा उनीहरुले आपसी सहकार्य जारी राख्दै अघि बढ्ने र वार्ता र संवाद कायम राख्ने विषयमा छलफल भएको एक नेता बताउँछन् ।