धरानः धरान–१६ स्थित सियोन स्कुलको आयोजनामा सियोन स्कुल मेला तथा सियोन ट्यालेन्ट हन्ट बिहीबार स्कुलको प्राङ्गणमा भव्यरूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका सभाध्यक्ष स्कुलका फाइनान्स मेनेजर एल्कन मगर रहेका थिए भने धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहेका थिए । त्यसैगरी धरान–१६ का वडा अध्यक्ष मुरारी भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सुनसरीका प्रमुख अनिल माबो तथा धरान उपमहानगरपालिका शिक्षा महाशाखाकी अधिकृत उमा दाहाल विशेष अतिथिका रूपमा सहभागी रहेका थिए ।
कार्यक्रमको सुरुवातमा स्कुलका भाइस प्रिन्सिपल राकेश चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि बेघाले सियोन स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा पनि स्कुल अग्रणी रहेको बताए र आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गरे ।
शिक्षा महाशाखाकी अधिकृत उमा दाहालले विद्यार्थीको रुचि र क्षमताअनुसार गीत, नृत्यलगायत विविध प्रतिभा विकासका अवसर प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो।
विद्यार्थीमैत्री व्यवसायिक मेला
मेलाका क्रममा विद्यार्थीहरू स्वयं संलग्न भएर सेलरोटी, आलुदम, लड्डु, पेडा, बुनिया, आलु निम्की, चटपटे, चिकेन विङ्स लगायतका खानाका स्टल सञ्चालन गरेका थिए । अभिभावकहरूले स्टलबाट खानेकुरा खरिद गरी विद्यार्थीलाई प्रोत्साहन गरेका थिए ।
विद्यार्थीले आफै सामग्री जुटाएर परिकार तयार गरी बिक्री गर्नुको उद्देश्य सानैदेखि व्यवसायिक सीप र उद्यमशीलता सिकाउने रहेको भाइस प्रिन्सिपल चौधरीले बताए ।
सियोन ट्यालेन्ट हन्टमा गायन–नृत्यको प्रतिस्पर्धा
यसै अवसरमा जुनियर र सिनियर क्याटेगोरीमा गायन तथा नृत्य विधाको सियोन ट्यालेन्ट हन्ट सम्पन्न भएको थियो ।
नृत्य (सिनियरतर्फ)पहिलो स्थान कक्षा–११ विज्ञान संकायकी सृष्टि लिम्बूले हासिल गरिन भने दोस्रो स्थान कक्षा–११ बिज्ञान सन्कायकै रोयन राई र तेस्रो स्थान कक्षा–११ कै स्वीकृति श्रेष्ठले प्राप्त गरिन।
नृत्य (जुनियरतर्फ)पहिलो स्थान कक्षा–५ की लासेमी लिम्बूले हासिल गरिन भने दोस्रो स्थान कक्षा–६ की कृति रानामगर र तेस्रो स्थान कक्षा–५ का सिद्धार्थ तामाङले प्राप्त गरे।
नृत्य विधाका दुबै क्याटेगोरीका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद पाँच हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
गायन (सिनियरतर्फ)पहिलो स्थान कक्षा–११ व्यवस्थापन संकायका जसन तोलाङ्गीले हासिल गरे भने दोस्रो स्थान कक्षा–९ की ग्रेसी ब्लोन तामाङले प्राप्त गरिन् ।
गायन (जुनियरतर्फ)पहिलो स्थान कक्षा–६ का प्रज्वल पोख्रेलले हासिल गरिन भने दोस्रो स्थान कक्षा–७ का पेन्छेन तामाङले प्राप्त गरे ।
गायन विधामा दुबै क्याटेगोरीका पहिलो र दोस्रो हुनेले क्रमशः नगद दुई हजार पाँच सय र एक हजार पाँच सय सहित ट्रफी र प्रमाणपत्र हात पारे ।
बिजेताहरुलाई स्कुलका पिआरओ मानबहादुर थापामगर, भाइस प्रिन्सिपल राकेश चौधरी, फाइनान्स मेनेजर एल्कन मगर लगायतले पुरस्कार वितरण गरे ।
शैक्षिक ज्ञानसँगै प्रतिभा, सिर्जनशीलता र व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विद्यार्थी, अभिभावक र अतिथिहरूबाट प्रशंसा पाएको आयोजकले जनाएको छ ।


























