धरानः धरानमा पनि सरस्वती पूजा मनाइएको छ । विद्या खानीकी देवी सरस्वती माताको सोमबार धरान–९ स्थित विष्णु स्कुलले पनि धुमधामका साथ मनाएको छ ।
विद्यालयका संस्थापक अध्यक्ष वेनिन्द्र कटवाललगायत अध्यापक, विद्यार्थीहरूको उपस्थितिमा धुमधामका साथ पूजाआजा पनि गरिएको थियो । विद्यालयले सरस्वती पूजा मनाउनुका साथै अक्षरारम्भ समेत गराइएको थियो । कार्यक्रममा अभिभावक साना–साना बालबालिकासँगै उपस्थित थिए ।
विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तीक्ष्ण हुने विश्वास छ । बालबालिकाहरुले मन्दिरमा ‘कखरा’ र ‘एबीसीडी’ लेख्न सिकेका छन् ।
श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने, पढ्नमा तीक्ष्ण र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना गरिन्छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा विद्याकी देवी सरस्वरीको पूजाआज गरिन्छ । वसन्त ऋतु सुरु भएसँगै यो पर्व आउने भएकाले वसन्तपञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ ।
यस दिन सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र वुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
तस्वीरहरूः हाम्रो कोशी आवाज




























































