Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा श्रम संस्कृति पार्टीको चुनाव प्रचारमा बालबालिकाको प्रयोगको सर्वत्र विरोध

हाम्रो कोशी आवाज
माघ १० २०८२, शनिबार
धरानमा श्रम संस्कृति पार्टीको चुनाव प्रचारमा बालबालिकाको प्रयोगको सर्वत्र विरोध

धरानः धरानमादल र उम्मेदवारले आचारसंहिता मिचेर चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् ।
धरानमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित कार्यकर्ताहरू सम्मिलित घरदैलो कार्यक्रममा अघि अघि बालबालिकाहरू र पछि पछि अध्यक्षसहित कार्यकर्ताहरु उपस्थित थिए । पार्टीले बालअधिकार उल्लंघन गर्दै बालबालिकालाई प्रचारमा लगाएको भन्दै अहिले सर्वत्र विरोध पनि भइरहेको छ । पार्टीले चुनाव चिहन अंकित टिसर्ट लगाइदिएर बालबालिकालाई चुनाव प्रचारमा खटाएको हो ।
बालबालिका ऐनको दफा ६६ (२) मा राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि सहभागी गराउन नहुने व्यवस्था छ । ऐनअनुसार राजनीतिक उद्देश्य पूरा गर्न बालबालिकालाई प्रयोग गर्नु कसुर हो ।
बालबालिकालाई जुलुसुमा सहभागी गराए र राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । निर्वाचन आचारसंहितामा १८ वर्षभन्दामुनिका बालिबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने उल्लेख छ ।
उता पार्टीका अध्यक्ष साम्पाङले भने बालबालिकाहरू अभिभावकसँगै आएको बताए । ‘रहर गर्छन्, नल्याउनु भन्दा पनि रुन्छन् पो’, उनको हलुका जवाफ थियो । उनले बालबालिकालाई नल्याउनु भन्न समेत सकेनन् ।
यसैबीच जेनजी फ्रन्टले निर्वाचन प्रचार प्रसारमा बालबालिकाहरुको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ । जेनजी फ्रन्टले शनिबार विज्ञप्ती जारी गरी आगामी फागनु २१ मा हुने निर्वाचनका लागि बालबालिकाहरूको प्रयोग भएको जनाउँदै त्यसप्रति फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
उसले बालबालिकालाई संलग्न गराउनु राजनीतिक रूपमा अनैतिक कार्यका साथै नेपालको विद्यमान कानूनअनुसार दण्डनीय अपराध रहेको तथा बालबालिका सम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताले राजनीतिक गतिविधि, चुनावी प्रचार–प्रसार तथा सार्वजनिक प्रचार सामग्रीमा बालबालिकाको अनुहार, नाम वा सहभागिताको प्रयोगलाई स्पष्ट रूपमा निषेध गरेको स्मरण गराएको छ ।
‘यसरी बालबालिका प्रयोग हुनु लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान हो । बालबालिका कुनै पनि राजनीतिक दल, कार्यकर्ता वा उम्मेदवारका प्रचारका औजार होइनन्, हुनुहुँदैन भन्ने विषयमा हामी स्पष्ट छौँ । उनीहरूलाई राजनीतिक प्रतिस्पर्धाको साधन बनाएर भविष्यप्रति गैरजिम्मेवार व्यवहार नगर्न सम्पूर्ण राजनीतिक दल तथा उम्मेद्वारहरू सचेत बन्न आवश्यक छ,’ विज्ञप्तीमार्फत जेनजी फ्रन्टले भनेको छ ।
फ्रन्टले सबै राजनीतिक दल, उम्मेद्वार तथा कार्यकर्तालाई कानूनको सम्मान गर्दै आगामी निर्वाचन प्रक्रियाका राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न, आचारसंहिताको पूर्ण पालना गर्न र उच्चतम जिम्मेवारी तथा जवाफदेहिता देखाउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: माघ १० २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend