धरानः सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार हर्कराज राईले आचारसंहिता मिचेर चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै प्रहरी र निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
धरान नगर बाल सञ्जालले आइतबार सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गर्दै बालबालिका प्रयोग गरेको विषयमा छानबिन तथा कारबाहीको माग गरेको हो ।
बाल सञ्जालले यसलाई बाल अधिकारको गम्भीर उल्लंघन भन्दै छानबिन र कानुनी कारबाहीको माग गरेको छ । निर्वाचन अधिकृतले उजुरीको अध्ययन गरी प्रमाणित भए जरिवाना र उम्मेदवारी खारेजसमेत हुन सक्ने बताएका छन् ।
बाल सञ्जालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित प्रचार–प्रसारका क्रममा बालबालिकालाई प्रयोग गरी कानुनविपरीत चुनावी गतिविधिमा संलग्न गराइएको भन्दै यसलाई बाल अधिकारको गम्भीर उल्लंघनका रूपमा लिइएको छ ।
उजुरी बाल सञ्जालका प्रतिनिधि रोजन शङ्कर र नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा दर्ता गराएका हुन्। उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९(७) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराइएको छ ।
प्रमुख निर्वाचन अधिकृत दिव्यराज घिमिरेले उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिए ।
पार्टीले बालअधिकार उल्लंघन गर्दै बालबालिकालाई प्रचारमा लगाएको भन्दै अहिले सर्वत्र विरोध पनि भएको थियो । पार्टीले चुनाव चिहन अंकित टिसर्ट लगाइदिएर बालबालिकालाई चुनाव प्रचारमा खटाएको हो ।
बालबालिकालाई जुलुसुमा सहभागी गराए र राजनीतिक रूपमा प्रयोग गरे ७५ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था बालबालिका ऐनमा छ । निर्वाचन आचारसंहितामा १८ वर्षभन्दामुनिका बालिबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने उल्लेख छ ।